आजदेखि उपत्यकामा निजी सवारीमा जोरबिजोर लागू, पसलहरू बारअनुसार खुल्ने

आजदेखि उपत्यकामा निजी सवारीमा जोरबिजोर लागू, पसलहरू बारअनुसार खुल्ने

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । यससँगै निजी सवारी साधनहरु जोर–विजोर प्रणाली अनुसार चलाउन पाइनेछ ।

आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक हप्ताका लागि निषेधाज्ञा खुकुलो बनाउँदै थप्ने निर्णय गरेको थियो ।

आजबाट बजार पनि चलायमान हुने भएको छ । विभिन्न सामग्रीका पसलहरु बारअनुसार र समय सिफ्ट अनुसार खोल्न पाउने व्यवस्था गरिएको हो । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय सामान र अन्य घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ । यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्रीका पसल, कपडा तथा जुत्ता पसल, फेन्सी, कस्मेटिक सामान, गिफ्ट र टेलरिङ लगायत पसलहरु खोल्न पाइने भनिएको छ । यसरी बारअनुसार चल्ने पसलहरू बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइनेछ ।

त्यस्तै, रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाइनेछ । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल् पाइने छ । तर, शनिबार भने अत्यावश्यकबाहेक अन्य पसलहरू भने बन्द गर्नु पर्नेछ । खाद्यान्न पसलहरू भने हरेक दिन खुला हुनेछन् ।

तर शैक्षिक संस्थाहरू खुल्ने छैनन् । अनलाइन माध्यमबाटै पठनपाठन गरिने भएकाे छ । यसैगरी सभा, सम्मेलन, ठूला भाेजभतेर लगायन मान्छेकाे भीड हुने कार्यहरू निषेध नै गरिएकाे छ ।