डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि,नगर प्रमुखको प्रतिबद्धतापछि अस्मिताको परिवार शव बुझ्न सहमत

धनगढी खबर    

डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि,नगर प्रमुखको प्रतिबद्धतापछि अस्मिताको परिवार शव बुझ्न सहमत

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या गरिएको पुष्टि भएको छ ।

शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

‘हामीले घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको आशंकामा प्रारम्भिक अनुसन्धान थालेका थियौं,’ डीआईजी सुवेदीले भने ‘शव परीक्षण रिपोर्टबाट पनि हत्या नै भएको देखिएको छ । अहिले सोही आधारमा अनुसन्धान गरिरहेका छौं । केही प्राविधिक कुराको परीक्षणका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

जोगबुढा अस्पतालका चिकित्सकले शव परीक्षण रिपोर्ट प्रहरीलाई बुझाइ नसकेको भए पनि अस्मिताको हत्या भएको पुष्टि गर्दै उनको बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्ने कुरा प्रष्ट पार्न डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । सोहीअनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको हो ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । मृतकका श्रीमान र दुई छोरी छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।

नगर प्रमुखको प्रतिबद्धतापछि अस्मिताको परिवार शव बुझ्न सहमत

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले अस्मिताको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने लगायतका विषयमा प्रतिबद्धता जनाएपछि उनको परिवार शव बुझ्न सहमत भएको छ ।

सोमबार ५ बुँदे माग राख्दै नगरपालिका घेराउ गरेका पीडित पक्षसँग भएको छलफलका आधारमा नगर प्रमुखले हत्यामा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि शव बुझ्न पीडित परिवार तयार भएको हो ।

‘मेयरले हामीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ मृतकका श्रीमान अमर धामीले भने, ‘त्यसैले हामी अस्मिताको शव बुझ्न तयार भएका हौं ।’

उनकाअनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिने र अस्मिताको ठाउँमा परिवारको अर्काे सदस्यलाई रोजगारी दिने सहमति भएको छ ।



मङ्गलबार ०८, असार २०७८ ११:५१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस