मेलम्चीका बाढीपीडितलाई काभ्रेलीको सहयोग

धनगढी खबर    

मेलम्चीका बाढीपीडितलाई काभ्रेलीको सहयोग

 गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन् ।

पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप रु १० लाख आर्थिक सहयोग गरेको छ । बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई रु १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “छिमेकी जिल्लामा दुःखद् घटना हुँदा नगरको सहयोगले मेलम्चीमा केही राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो । “मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ, त्यसैले सहयोग ग¥यौँ”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो ।

मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पु¥याएको थियो । पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ भने मेलम्ची बजारका दर्जनाँै घर डुबानका परेका छन् । दर्जनभन्दा बढी मानिस हराइरहेको जनाइएको छ । स्थानीय सार्वजनिक संस्था क्षतविक्षत भएका छन् ।



मङ्गलबार ०८, असार २०७८ १२:२९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस