खसीको भन्दै बाख्राको मासु बेच्ने दुई जना पक्राउ

खसीको भन्दै बाख्राको मासु बेच्ने दुई जना पक्राउ

रौतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना व्यापारी पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आरोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३०/३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाइने रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा उपभोक्तालाई झुक्याएर मासु बेच्ने क्रमम बढेकाले यसको नियन्त्रणको लागि स्थानिय प्रशासन र नगरपालिकाहरुले कडा अनुगमन गर्नुपर्ने र दोषीलाई कडा कानूनी दण्ड दिनुपर्ने उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ छ ।

‘जिल्लाको सदरमुकाम गौरमा त उपभोक्तालाई यसरी झुक्याएर ठगी गरिरहेका छन् भने ग्रामिण इलाकाकाे अवस्था के होला ?’ उनले प्रश्न गर्दै भने , ‘यसलाई नियन्त्रण गर्न सरोकारवाल निकाय ढिलाइ नगरी कडा अनुगमन गर्नुपर्छ र दोषीलाई कानूनी कठघरमा उभ्याउनुपर्छ ।’