कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ !

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ !

धनगढी: कैलाली प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका महेश राना रहेका छन्। उनले २०७४ माघ १० गते उपमहानगरपालिका–१ बसन्त टोलकी शान्ती चौधरीको घरबाट ल्यापटप, मोबाइल तथा नगद गरी १ लाख ४० हजार ६ सय बराबरको धनमाल चोरी गरेका थिए।

चोरीपछि पक्राउ परेका राना धरौटीमा छुटेका थिए। तर जिल्ला अदालतले उनलाई २०७६ जेठ १५ गते १९ दिन कैद र १ लाख ६ हजार १ सय २६ रुपैंयाको जरिवाना सजाय सुनाएको थियो।

त्यसपछि फरार रहेका महेश रानालाई सोमबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।