धनगढीले उप–महानगरपालिकाले १ अर्व ८१ करोड बढीको बजेट ल्यायो

धनगढीले उप–महानगरपालिकाले १ अर्व ८१ करोड बढीको बजेट ल्यायो

धनगढी  उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, कार्यक्रम तथा बजेट मंगलबार सातौं नगर सभामा पेश गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभामा पेश गरेको बजेट १ अर्व ८१ करोड २८ लाख २२ हजार १ सय रहेको छ । जसमध्य चालुतर्फ १ अरव २ करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड, ४७ लाख ५१ हजार रहेको छ । 

बजेट तथा कार्यक्रमले कोभिड १९ बाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापन , स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि , शिक्षा तथा रोजगारी , पूर्वाधार निर्माण तथा दीगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास  ,उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसाधन तथा  संस्थागत सुशाशन,  सामाजिक विकास तथा गरिवी निवारण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

कृषी तर्फ किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिटकार्यको ब्यबस्था गर्ने, सामुदायीक बनमा जडिबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषी बजार मुल्य सूचना प्रणालिको ब्यबस्था गरिने नीति दिएको छ । पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकास तर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकिय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरुको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् । 

त्यसैगरी सामाजिक विकास तर्फ वालबालिका किशोर किशोरी संग उप–मेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रबृती, उत्कृष्ठ शिक्षक सम्मान, बालविकास शिक्षक, सामुदायीक सिकाईकेन्द्रका कर्मचारीहरुलाई केन्द्रले तोकेको तलवमा अपुग रकम थप गर्ने नीति लिएको छ । त्यसैगरी, पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानुनी मामिला तथा न्यायीक निरुपण लगायतका क्षेत्रहरुलाई समेट्ने गरि नीति तर्जुमा गरेको छ । नगरप्रमुख नृपबहादुर वडले सिमित श्रोत साधनका बिच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याएको बताए ।

उनले भने, ‘ हामी छलफलमै छौं समेट्न नसकेका बिषय समेटेर लैजान्छौं । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले निकै मेहनतका साथ स्थानीयतहले अवलम्वन गर्ने सबै प्रकृया पुरा गरेर, नगरवासीका मागहरुलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको बताईन । उनले भनिन्, नीति, कार्यक्रम र बजेट तयार पार्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नगरसभाका सदस्य सचिव हरीबहादुर चन्दले बार्षिक नीति , कार्यक्रम तथा बजेट माथीको छलफल जारी रहेको  बताए ।