निषेधाज्ञामा स्वयम्भू ‘डेटिङ’मा जाने जोडि पूजा गर्न गएको, निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष

निषेधाज्ञामा स्वयम्भू ‘डेटिङ’मा जाने जोडि पूजा गर्न गएको, निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भू डाँडामा ‘डेटिङ’ गएका सरकारी कर्मचारी दुवैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टीकरण दिएका छन् । निषेधाज्ञामा स्वयम्भूको डाँडामा प्रेमालाप गरेर भाइरल बनेका दुवैले आफूहरु पूजा गर्न गएको स्पष्टीकरणमा भनेका छन् ।

झण्डै एक महिना अघि सरकारी गाडी लिएर स्वयम्भू डेटिङमा पुगेको सरकारी कर्मचारीको भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो । भिडियोमा एक युवा र एक युवती डेटिङमा लिप्त थिए ।

सरकारी गाडी चढेर स्वयम्भू डाँडामा पुगेर डेटिङमा लिप्त हुने कर्मचारी हुन्, सहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, रोशन श्रेष्ठ । उनी सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग निषेधाज्ञा उल्लंघन गर्दै सरकारी गाडी चढेर स्वयम्भूमा प्रेमालाप गर्न पुगेका थिए ।

उपसचिव इन्जिनियर श्रेष्ठ बिवाहित हुन् । उनको श्रीमती पनि इन्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।

तर, प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर श्रेष्ठ स्वयम्भूमा युवतीसँग ‘डेटिङ’मा रमाउन पुगेका थिए ।भिडियो र तस्वीर भाइरल भएपछि उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कारवाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्यो ।

गृहको पत्र प्राप्त गरे पछि सिडिओ कार्यालयले उक्त घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

र, समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो । तर, छानबिन समितिले जाँचबुझ गर्दा उनीहरु दुवैले पास लिएरै हिँडेको देखिएको र निषेधाज्ञा उल्लघन नभएको निष्कर्ष निकालिएको छ ।

सहायक सिडिओ भट्टले न्यूज २४ नेपालसँगको कुराकानीमा पास लिएर हिँडेको देखिएको र कारबाहीलगायत विषयमा मन्त्रालयलाई नै जिम्मेवारी दिइएको बताएका छन् ।

उनले भने, ‘पास लिएरै हिँडेको थियो । र, थप कारबाही गर्ने नगर्नेबारेमा मन्त्रालयलाई नै पत्राचार गरिएको छ । अब, यस विषयमा अख्तियारलाई पनि अधिकार हुन्छ ।’

समितिका एक सदस्यका अुनसार श्रेष्ठले चलाएको प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास सहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएकाले निषेधाज्ञा उल्लघन नभएको पनि निष्कर्ष निकालेको छ ।

के भन्छन्, सहायक सिडिओ ?

प्रशासनले सोधेको स्पष्टीकरणमा उनले के जवाफ दिए भन्नेबारे सहायक सिडिओ सापकोटाले बताएनन् । उनी नेतृत्वले उक्त घटनाको बारेमा अनुसन्धान अघि बढाए पनि समग्र विषयबारे भन्न हिच्किचाए । उनले भने, ‘यस विषय सबै कुरा भन्न मिल्दैन । मलाईभन्दा पनि सूचना अधिकारीलाई सोध्नुहोला ।’

निषेधाज्ञा उल्लंघन गरेर हिँड्ने कर्मचारीमाथि कारबाही त गर्नुपर्ने होइन र भनेर पुनः प्रश्न गर्दा उनले मन्त्रालयलाई नै पत्रचार गरिएको उनले बताए ।

घटनाबारे विस्तृत रुपमा जानकारी नदिएका सहायक सिडिओमाथि पनि प्रश्न उब्जिएको छ । जबकि निषेधाज्ञामा काम न बेकाम सरकारी गाडी लिएर डेटिङमा जाने कर्मचारीमाथि नियम उल्लंघन नभएको र पास लिएरै हिँडेको भनेका सहायक सिडिओले त बचाएनन् ? अहिले थप कारबाहीलगायत सबै जिम्मा मन्त्रालयलाई दिइएको छ ।

तर, अझैँ कारबाही गर्ने वा नगर्ने भन्ने सवालमा सिडिओ कार्यालयले निषेधाज्ञा उल्लंघन नगरेको भनेको अवस्थामा मन्त्रालयले कारबाही गर्ला त ?