विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागी आवश्यक तयारी गरेका छौँः नगरप्रमुख साउद

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागी आवश्यक तयारी गरेका छौँः नगरप्रमुख साउद

धनगढी | जलवायुमा आइरहेको प्रभाव पश्चात् अहिले मनसुन पनि सुरु भइसकेको छ । कैलाली जिल्लामा पनि बर्सातमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको लागि सबै अङ्गलाई उच्च सतर्कतामा राखिएको छ। जिल्लामा बर्सेनि बाढी पहिरोले धनजनको ठुलो क्षति हुँदै आएको र चालु वर्षको मौसम पूर्वानुमान गरी सबै निकाय तथा अङ्गलाई हाई अलर्टमा राखिएको बताइएको छ ।

मनसुन सुरु भएसँगै कैलालीको गोदावरी नगरपालिका लगायतका कैलालीका पालिकाहरू नागरिकको सुरक्षा र विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको छन् । वर्षाको समयमा बाढी, डुबान, नदी कटान जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्व तयारी थालिएको गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले बताउनु भएको छ ।

नगर प्रमुख हरिसिंह साउदले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशनअनुरूप आम नागरिकको जीवन रक्षाका लागि नगरपालिका सचेत रहेको बताउँदै नागरीकहरुले विपद् सँग र वर्षामा हुनसक्ने समस्याहरू को सामना गर्न नगर बासीहरूले पनि चनाखो र सजग भएर बस्न आग्रह गर्नुभएको छ ।

नगरप्रमुख साउदले भन्नुभयो, ‘गोदावरी नगरपालिकाले विपद् व्यवस्थापनको निम्ति आवश्यक बजेट छुट्याको छ । गोदावरी नगरपालिकामा पर्ने पहाडी वडाहरू लगायत सबै वडाहरूमा विपद् व्यवस्थापनको लागी आवश्यक पर्ने सामग्रीहरुपनि वितरण गरेका छौँ । हामी सुरक्षा निकाय सँगको समन्वयमा तम्तयार अवस्थामै छौँ । उहाँले भन्नुभयो ।

साथै बर्खाको समयमा सचेत रहन पनि आग्रह गर्नु हुँदै, ‘अहिले विभिन्न समस्याहरू आउन सक्छन् त्यस्तो समस्या पर्ने नदी तथा तटीय क्षेत्रका नागरिकहरूलाई अहिले बाट नै सजग भएर बस्न आग्रह गर्नुभएको छ ।