क्रोएसिया युरोपेली च्याम्पियनसिप अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह डी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको हो ।
कोएसियालाई जित दिलाउनको लागि कप्तान लुका मोड्रीच, निकोला भ्लासिच र इभान पेरिसिच समान एक एक गोल गरेका थिए । स्कटल्यान्डको क्यालम मक्ग्रेगरले एक गोल फर्काए ।
खेलको १७ औँ मिनेटमा भ्लासिचले गोल गर्दै कोएसियालाई अग्रता दिलााएका थिए । ४२ औँ मिनेटमा स्कटल्यान्डले खेल बराबरीमा ल्यायो । उसको लागि मक्ग्रेगरले गोल गरे ।
६२ औँ मिनेटमा कप्तान मोड्रीचले गोल गर्दै कोएसियालाई पुन अग्रता दिलाए । ७७ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई सहज जित दिलाए ।
यस जितले क्रोएसिया चेक रिपब्लिकलाई पछि पार्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । चेक इंग्ल्यान्डसँग १-० ले पराजित भएपछि क्रोएसियालाई फाइदा पुगेको हो । समान ४-४ अंकका साथ गोलअन्तर बराबर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अघि बढेको हो ।