भोलिदेखि अन्तर्राष्ट्रिय र असार १७ देखि नियमित रुपमा आन्तरिक उडान

भोलिदेखि अन्तर्राष्ट्रिय र असार १७ देखि नियमित रुपमा आन्तरिक उडान

सरकारले भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक ह्वाई उडान गर्ने तालिका सार्वजनिक गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको तालिका अनुसार भोलिदेखि नै अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक कूल उडानको ५० प्रतिशत ह्वाई उडान गर्न लागेको छ ।

आन्तरिक उडानतर्फ भनेको तोकिएको उडान संख्याबमोजिम १ जुलाई अर्थातः १७ असारबाट नियमित उडान हुने मन्त्रालयले जनाएको छ । एक हप्ताको अवधिभित्र टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय ह्वाई उडानतर्फ भने भोलि २४ तारिखदेखि नै उडान भर्ने तालिका मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापानका लगि उडान भर्नेछ । यसै दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । त्यसै दिन टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने तालिका रहेको छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने उडान तालिका सार्वजनिक गरेको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्ने भनिएको छ । उक्त दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । त्यसै दिन कतार एयरवेज दोहाबाट काठमाडौं, र जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने तालिका रहेको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने तालिका रहेको छ । त्यसै दिन हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्ने भनिएको छ ।

त्यसै दिन कतार एयरवेजले दोहाबाट उडान गर्ने भएको छ। २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने तालिका रहेको भने त्यसै दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने भनिएको छ ।

२९ जुनमै फ्लाई दुबई दुबईबाट काठमाडौं र ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउनेछ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका सार्वजनिक भएको छ ।