बाढी,पहिरो तथा जनधनको क्षति न्यूनिकरण गर्नका लागि उद्दारका सामाग्री तयारी अवस्थामा राख्न निर्देशन

बाढी,पहिरो तथा जनधनको क्षति न्यूनिकरण गर्नका लागि  उद्दारका सामाग्री तयारी अवस्थामा राख्न निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न पूर्वतयारी अघि बढाएको छ । 

बाढी, पहिरो तथा जनधनको क्षति न्यूनिकरण गर्नका लागि प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बुधबारको बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले परिषदको बैठकले प्रदेशमा बाढी तथा पहिरोमा कुनै पनि व्यक्तिको मृत्यु नहोस भनी प्रदेशमै उद्दारका लागि हेलीकोप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको बताइन ।

उनले भनिन –‘बुधबार बसेको परिषदको तेस्रो बैठकले प्रदेशमै एउटा हेलिकोप्टर विपदमा परेका व्यक्तिको उद्दार तथा राहत वितरणका लागि प्रदेशमै तयारी अवस्थामा राख्न संघिय सरकारसंग सिफारिस गर्ने निर्णय भएको छ ।’ परिषदको बैठकले राहत तथा उद्दारका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको छ । प्रदेशमा अहिले बाढी तथा पहिरोको जोखिम बढीरहेका बेला राहत तथा उद्दारका लागि ढुङ्गा, डोरी, पहिरो क्षेत्रमा आवश्यक पर्ने उपकरण लगायतका सामाग्रीको जोहो गर्ने निर्णय गरेको छ ।

यस्तै, राहतमा कुनै पनि कमजोरी नगराउने पनि बैठकले निर्णय गरेको मन्त्री जोशीले बताइन । योसंगै परिषदको बैठकले विपद पूर्वतयारी तथा कार्ययोजनासमेत पारित गरेको छ । सो कार्ययोजनाअनुसार हुनसक्ने सम्बाभित जोखिमलाई न्यूनिकरण गर्न विषयगत समितिलाई परिचालन गर्ने उल्लेख छ । सो कार्ययोजना अनुसार विषयगत समितिको जिम्मेवारी तथा काम तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो १० दिनमा विपदका विभिन्न २९ घटना घटिसकेका छन । यसमा बाढी, पहिरोका १५ वटा घटना भइसकेका छन । प्रदेशमा विभिन्न विपदका घटना परि पा“च जनाको मृत्यु र पा“च जना घाइते भएको र एक जना बेपत्ता भएको राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । बाढी पहिरोमा मात्र परि प्रदेशमा पा“च जनाको मृत्यु, चार घाइते र एक जना वेपत्ता भएको उल्लेख छ । प्रदेशमा सबैभन्दा बढी बादि पहिरोका घटना बाजुरा जिल्लामा भएका छन ।

केन्द्रका अनुसार बाजुरामा बाढी पहिरोका छ वटा घटनामा परि एक महिलाको मृत्यु भएको छ भने ११ घरपरिवार प्रभावित भएका छन । जसमा सात घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । यो दश दिनमा प्रदेशका पहाडी तथा हिमाली जिल्लामा विपदले क्षति पुर्याएको केन्द्रको तथ्यांकमा उल्लेख छ । सो केन्द्रका अनुसार प्रदेशको डोटी र दार्चुलामा विपदका तीन/तीन घटना भएकोमा डोटीमा दुई पुरुषको मृत्यु र एक महिला घाइते भएको उल्लेख छ ।

डोटीमा विपदबाट छ घरपरिवार प्रभावित भएका छन भने दार्चुलामा एक पुरुष घाइते र एक घर परिवार प्रभावित भएको उल्लेख छ । प्रदेशको बझाङमा बाढी पहिरोका दुई घटना भएकोमा एक महिलाको मृत्यु भएको जनाइएको छ भने अछाममा एक घटना भएको उल्लेख छ । यस्तै, बैठकले प्रदेशमा आउन सक्ने कोभिडको तेस्रो लहरको जोखिम नियन्त्रणका लागि पूर्वतयारी गर्ने समेत उल्लेख छ ।