देउवालाई प्रधानमन्त्री बनाउने पक्षका वकिलले आज ४ घण्टामा बहस सक्नुपर्ने

देउवालाई प्रधानमन्त्री बनाउने पक्षका वकिलले आज ४ घण्टामा बहस सक्नुपर्ने

 संसद (प्रतिनिधिसभा) विघटनविरुद्धको मुद्दामा आज रिट निवेदक पक्षका वकिलको अन्तिम बहस हुँदै छ । संसद पुनर्स्थापना गरेर विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने मागसहित १४६ सांसदले दिएको रिटमाथिको बहस आज सकिन लागेको हो ।

रिट निवेदक पक्षका वकिललाई सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको सुरू बहसको १२ घण्टा समयमध्ये आजका लागि साढे ४ घण्टा बाँकी रहेको बताइएको छ । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा बुधवारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

आजको बहसका लागि २३ जना वकिलहरुको नामावली रहेको छ । सुरुमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस गर्ने बताइएको छ । त्यसपछि अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम घट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र सविता भण्डारीलगायतले बहस गर्नेछन् ।

भोलि शनिबार परेकाले आइतबारदेखि सरकार पक्षका वकिलले बहस सुरु गर्नेछन् । सरकारको प्रतिरक्षामा महान्यायाधीवक्ता कार्यालयका वकिलले बहस गर्नेछन् । त्यसपछिको प्रधानमन्त्री केपी शर्मा र सभामुख अग्नि सापकोटाका वकिलले पनि बहस गर्ने बताइएको छ ।