सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

सरकार बचाउनको लागि कसैसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पार्नुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानका विरुद्धको कदमको मात्र बिरोध गरेको भन्दै सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पार्नुभएको हो ।

नेपालका केही पूर्वप्रधानमन्त्रीहरु आफूलाई ‘देशभक्त हुँ’ भनेर हिड्ने तर विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्ने गरेको उहाँको आरोप थियो । उहाँले पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले खुलेआम भन्ने गरेको जिकिर गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । भूतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको उहाँको टिप्पणी छ । उहाँले राष्ट्रपतिलाई दिएको अधिकारमा सीमित रहेको भन्दै उहाँले गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताउनुभयो ।

राजनीतिलाई संसद र जनतामाझ नलगेर अदालतमा लाने प्रवृतिले राजनीतिलाई बिगारिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने संकेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई कसैलेपनि मेटाउन नसक्ने धारणा राख्नुभयो । उहाँले छिमेकी राष्ट्रसंग नेपालले समान व्यवहार गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गर्नुभएको थियो ।

त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन वर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तराष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।