अबको निषेधाज्ञा कस्तो बनाउने ? उपत्यकाका सिडिओहरू फेरि छलफलमा

अबको निषेधाज्ञा कस्तो बनाउने ? उपत्यकाका सिडिओहरू फेरि छलफलमा

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको अबको स्वरुपबारे निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू आज पनि छलफलमा बस्दै छन् ।

आइतबार पनि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सिडिओहरुको बैठकमा बसेका थिए । तर कुनै ठोस निर्णय गर्न सकेनन् । पुनः आजको छलफलबाट एउटा निर्णय पुग्ने तयारी रहेको बताइएको छ ।

आइतबार पुनः निषेधाज्ञा थप्नृ वा नथप्ने र थपेमा कस्तो स्वरुपमा कति दिनका लागि थप गर्ने भन्ने बारेमा निर्णयमा पुग्न नसकिएकोले आजको बैठकमा थप छलफल हुने बताइएको छ । आइतबारको बैठकमा अहिलेसम्मको कोरोना संक्रमणको अवस्थाबारे मात्र छलफल भएको र सोमबार बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय लिने काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार निजी सवारीजस्तै सार्वजनिक सवारी पनि जोर–बिजोर प्रणालीमा खुलाउनेबारे पनि आइतबार छलफल भएको थियो । तर त्यसबारे निर्णय हुन भने सकेको थिएन । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भए पनि निर्णयमा पुग्न नसकिएको हो ।

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पछिल्लो एक हप्तायता खुकुलो पारिएको छ । निजी सवारी साधन र ट्याक्सीहरु जोरबिजोरका आधारमा तथा पसलहरु बार अनुसार सञ्चालन गर्न दिइएको छ ।