धान मुख्य बाली भएको कृषिप्रधान देशमा वार्षिक ५० अर्बको धान आयात

धान मुख्य बाली भएको कृषिप्रधान देशमा वार्षिक ५० अर्बको धान आयात

आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ ।

धान नेपालको मुख्य बाली हो । नेपालका अधिकांश भागहरुमा धान उत्पादन हुन्छ । अधिकांश नेपालीहरु प्रत्येक दिन चामलको परिकार खान्छन् ।

नेपालमा कुल कृषि उत्पादनमा धानको उत्पादन आधा हुने तथ्यांक छ । आर्थिक वर्ष २०२०/२१ को तथ्यांकले धान उत्पादनमा वृद्धि भएको देखाएको छ । १४ लाख ७० हजार हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

धानले नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । धानले कुल कृषिको ग्राहस्थ उत्पादनमा २१ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशतको योगदान गर्छ ।

नेपालमा धानको आयात बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ४८ अर्ब १४ करोडको धान आयात भएको भन्सार विभागको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ५६ प्रशितले वृद्धि भएको हो । यो आयात कुल आयातको ३.४८ प्रतिशत हो । अझै एक महिनाको तथ्यांक आउन बाँकी भएकाले वर्षमा ५० अर्बको धान आयात हुन थालेको देखिएको छ ।