बालबालिकालाई किन पुरानै नक्सा ?

बालबालिकालाई किन पुरानै नक्सा ?

लिम्पियाधुरासम्मकै क्षेत्र समेटेर नयाँ नक्सा जारी भएको वर्ष दिन बितिसक्दा पनि सरकारले नै निःशुल्क वितरण गरेको पाठ्यपुस्तकमा समेत पुरानै नक्सा छापिनु आश्चर्यजनक छ । विभिन्न कक्षाका किताबमा अझै पनि लिपुलेक, कालापानी र लिम्पियाधुराविहीन नक्सा नै समावेश हुनुले शिक्षक–विद्यार्थीमा अन्योल मात्र बढाएको छैन, स्वयं सरकारको भूमिका र नियतमाथि पनि संशय उत्पन्न गरेको छ ।
कक्षा ५ र ९ का सामाजिक अध्ययन पुस्तकमा पुरानै नक्सा ।
सरकारले चाहँदा नयाँ शैक्षिक सत्र सुरु भएपछि वितरण हुने पाठ्यपुस्तकको एउटा पृष्ठ सच्याउनु कुनै ठूलो कुरा थिएनरहोइन । तापनि सरकारले यस्तो इच्छा किन देखाएन भन्ने प्रश्न गम्भीर छ । यसबारे बेलैमा प्रस्टीकरण दिएर आगामी दिनमा उक्त नक्सा सच्याइएन भने सरकारको अभिप्रायमाथि थप सन्देह सृजना हुनेछ । तसर्थ, सरकारले यसबारे आवश्यक छानबिन गरेर गल्ती सच्याउनुपर्छ । र, विद्यार्थीले देशको सही भूगोल जान्न पाउने प्रबन्ध मिलाउनुपर्छ ।

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले समयमा निर्देशन नदिएकैले जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिक शिक्षालगायत विषयको पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको तथ्य खुलेको छ । यसबाट समग्र सरकारकै नीति कतै नयाँ नक्सालाई आम रूपमा प्रयोग तथा बुझाइमा ल्याउनु नरहेको त होइन भन्ने स्वाभाविक आशंका उब्जिएको छ । गत वर्ष व्यापक सार्वजनिक दबाबपछि सरकारले नयाँ नक्सा जारी गरेको थियो भने उक्त नयाँ नक्सालाई निसाना छापमा राख्ने विधेयक राष्ट्रिय सहमतिका साथ संसद्बाट पारित गरिएको थियो । एकातिर यसरी अभूतपूर्व राष्ट्रिय सहमति जुट्दा पनि सरकारले वास्तविक भूमि नै आफ्नो नियन्त्रणमा ल्याउने दिशामा भारतसित सार्थक संवाद अघि नबढाउनु र अर्कातिर जारी नयाँ नक्सालाई पाठ्यपुस्तकमा राख्नसमेत जोड नदिनुबीच कतै नियोजित संयोग त छैन भन्ने स्वाभाविक प्रश्न यहाँ उठेको छ । सरकारले भारतसित गैरकूटनीतिक हिमचिम बढाएको भनेर विपक्षीहरूले आरोप लगाइरहेको यो बेला यस्तो प्रश्नको वजन त्यसै पनि बढी हुन्छ ।सरकारले पाठ्यवस्तुमा छापिने नक्साले बोक्ने राष्ट्रिय संवेदनशीलता बुझ्न सक्नुपर्छ । जसरी नक्सामा मात्र नभएर वास्तविक रूपमै अतिक्रमित भूमि फिर्ता ल्याउन उपयुक्त पहल थाल्न आवश्यक छ, त्यसरी नै आफ्नो भूगोलको सही नाप–नक्साबारे नागरिकलाई जानकारी गराउन पनि उत्तिकै जरुरी छ । त्यसका निम्ति

औपचारिक पाठ्यवस्तुमा यसलाई समावेश गर्नु अपरिहार्य हुन्छ । हिजो राज्यले नै औपचारिक रूपमै जान–अनजान अपुरो नक्सा प्रयोग गरिरहेको सन्दर्भ बेग्लै भयो, तर आज पनि लाखौं विद्यार्थीलाई मुलुकको सम्पूर्ण भूभाग नसमेटिएको नक्सा पढाउनुरसिकाउनु भनेको आफ्नो राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति नै जानाजान अनादर व्यक्त गर्नु हो, शिक्षा मन्त्रालय नेतृत्व र समग्र सरकारले यो विषयको गाम्भीर्यलाई मनन गर्नुपर्छ ।

सरकारको उदासीनता त आफ्नो ठाउँमा छ नै, निजी क्षेत्रका पुस्तक प्रकाशकहरू पनि यसमा गम्भीर भएको पाइएको छैन । पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिका अनुसार कुनै पुस्तकमा नयाँ, कुनैमा पुरानो नक्सा राखेर बिक्री–वितरण भइरहेको छ । एउटै पुस्तकको पनि आवरणमा नयाँ र भित्र पुरानो नक्सा राखिएको पाइएको छ । यसरी मुद्रणसम्बन्धी रकम जोगाउन मात्रै प्रकाशकहरूले यति गम्भीर मामिलामा खेलाँची गर्न पाइँदैन ।

पाठ्यपुस्तक छापिन सुरु हुने बेलैमा परिषदमार्फत आवश्यक निर्देशन दिन नचाहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गत असार १ गते शैक्षिक सत्र सुरु हुँदै गर्दा भने पुरानो नक्सा छापेर बिक्री–वितरण गरे कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए । जबकि, त्यतिबेला लाखौं पुस्तक छापिईकन वितरण भैसकेको थियो । त्यसैले मन्त्रीको उक्त निर्देशन लोकाचारका निम्ति मात्र भएको बुझ्न कत्ति पनि मुस्किल पर्दैन । त्यसैअनुसार पाठ्यक्रम विकास केन्द्रले पनि ढिलो गरेर नेपालको संशोधित नक्सा प्रयोग नगरेको, अद्यावधिक नगरी पाठ्यपुस्तक छपाइ र बिक्री–वितरण गरेको पाइए प्रकाशक, पुस्तक व्यवसायी, विद्यालय, शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । अभिभावक र विद्यार्थीलाई पाठ्यपुस्तक किन्दा सचेत हुनसमेत आग्रह गरेको छ । पुरानै नक्सा छापिएको हकमा सम्बन्धित प्रकाशन गृहले नयाँ नक्सा छपाइ विद्यालयसम्म पुर्‍याउनुपर्ने भनेको छ । यी निर्देशनहरू आफैंमा ठीक छन्, तर यिनको उचित पालनाका निम्ति फेरि पनि मन्त्रालय नेतृत्वकै उचित तदारुकता र स्पष्ट दिशानिर्देश चाहिन्छ ।

त्यसैले सरकारले अब छापिने पुस्तकमा अनिवार्य रूपमा नयाँ नक्सा समावेश हुने व्यवस्था मिलाउनुपर्छ । र, स्पष्टसित नेपालको कुल क्षेत्रफल तोकेर नयाँ नक्साबारे पढाउनेरचिनाउने कार्य गर्न देशभरका विद्यालयहरूलाई निर्देशन दिनुपर्छ । यस्तै, प्रकाशकहरूलाई नयाँ नक्सा विद्यालयहरूमा पठाउने प्रबन्ध मिलाउन लगाउनुपर्छ । विद्यालय तथा शिक्षकले पनि अग्रसक्रिय भएर नयाँ नक्सा पढाउनुपर्छ । मिचिएको भूमि फिर्ता ल्याउनु त छँदै छ, आफ्नै भूगोल र नक्साको सही ज्ञान दिन पनि धकाउनु हुँदैन ।