कैलालीमा निषेधाज्ञा अवधिभर ९२२ सवारी साधन कारवाहीमा, ५ लाख बढी राजश्व संकलन

कैलालीमा निषेधाज्ञा अवधिभर ९२२ सवारी साधन कारवाहीमा, ५ लाख बढी राजश्व संकलन

धनगढी । गत बैशाख १६ गतेदेखि प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिभर कैलालीमा ९ सय २२ सवारी साधन कारवाहीमा परेका छन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ९ सय २२ सवारी साधन कारवाहीमा परेका हुन ।

सरकारले लागु गरेको नियम विपरीत सवारी साधन चलाउने ९ सय २२ सवारी धनीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए । कारबाहीमा परेका सवारी साधनबाट रु ५ लाख ५८ हजार पाँच सय राजश्व संकलन भएको उनले बताए ।

त्यसैगरी सो अवधिमा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिहरुलाई पनि प्रहरीले कारबाही गरेको थियो । मास्क नलगाउने र हिँड्डुल गर्ने व्यक्तिहरुलाई 'होल्ड' गर्नुका साथै कारवाही पनि गरिएको थियो ।

गत बैशाख १६ गते यता हिँड्डुल गर्दा मास्क अनिवार्य गरेको प्रहरीले सो अवधिमा नागरिकलाई कोरोना संक्रमण बारे सचेतना समेत गराएको छ ।