कार दुर्घटना हुदा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

कार दुर्घटना हुदा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

त्रिभुवन विश्वविद्यालयको खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिचन्द्र क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख डा.शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।

मंगलबार साँझ सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका-१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

कार भण्डारी आफैले चलाएका थिए । कार खोलामा खसेपछि घाइते भएका उनको खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो । भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी बुबाको वार्षिक पुन्यतिथीमा सरिक हुन काठमाडौबाट बुटवल गएका थिए । उनको आज पशुपती आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी रहेको परिवारिक श्रोतले जनाएको छ ।