बझाङमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डका रुपमा विकास गर्ने तयारी

बझाङमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डका रुपमा विकास गर्ने तयारी

बझाङमा उत्पादित मकै, आलु र सिमी लगायतका बालीलाई राष्ट्रिय स्तरमा चिनाउन कृषि ज्ञान केन्द्र बझाङले ब्राण्डिङ गर्ने भएको छ ।कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित सिमी लगायतका बालीलाई अब ब्राण्ड गरी बजार पठाउन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहहरूले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने छन् । नेपालको धेरै ठाउँमा अत्यधिक माग रहेको बझाङको आलु, सिमीले बजारमा आफ्नो छुट्टै पहिचान बनाएकाले पनि स्थानीयस्तरमा उत्पादित आलु ब्राण्डिङ गर्न लागिएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले बताउनुभयो । 

बझाङमा अधिकांश कृषकको मुख्य खेती आलु र मकै भएकाले मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालिकाको वडा नम्बर  ६ को डिन्नु गाउँमा, दुर्गाथली गाउँपालिकाको सैनपसेला, जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवलमा मकै, बुंगल नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर २ का स्थानीयहरूलाई आलुमा आत्मनिर्भर बनाउन लागिएको समेत प्रमुख विष्टले बताउनुभयो । साथै विष्टले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बिउँ राख्ने भकारी, ४ सय थान बिउँ सुकाउने तिरपाल, र ५ ओटा हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिनुभयो  ।

 यस्तै जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ । कृषिज्ञान केन्द्र बझाङले पहिलो पटक जिल्लामा उत्पादन भएको भिर मौरीको मह, सिमी, मकै र आलु लगायतका खाद्यान्न सामाग्रीहरूलाई अर्को जिल्लासम्म पु¥याउने लक्ष्य लिएको छ । यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख छुट्ट्याइएको कृषि ज्ञान केन्द्र बझाङले जानकारी दिएको छ ।

ज्ञान केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको व्यवस्थापन भैसकेको र साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । साथै स्थानीय तथा राष्ट्रिय बजारमा १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत ज्ञान केन्द्रले जानकारी दिएको छ । आलु जोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरूलाई आलुजोन योजनाबाट आधुनिक तरिकाले आलु लगाउने तरिका सिकाएपछि किसानहरू खुसी भएका छन् भने, आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन् ।

यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानहरूको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ । यसरी स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्न सामाग्री प्याकिङ गरेर सदरमुकामको बजार तथा अन्य जिल्लाहरूको व्यापारिक केन्द्रमा पठाउँदा कृषकहरूलाई कृषि पेसामा लाग्न थप हौसला बढ्नुका साथै खाद्यान्न उत्पादनमा बृर्दि भई जिल्लामा आर्थिक सुधार हुने देखिन्छ ।