हुलाकी राजमार्ग निमार्णमा भयो चलखेलः सर्वे गरिएको ठाउँ छाडेर नदी किनारमा सडक

हुलाकी राजमार्ग निमार्णमा भयो चलखेलः सर्वे गरिएको ठाउँ छाडेर नदी किनारमा सडक

धनगढी– कैलालीमा निर्माणाधीन हुलाकी सडक मोहना नदी किनारमा निर्माण भइरहेको छ। पहिले सर्वे गरिएको ठाउँबाट सडक नबनाएर हुलाकी सडक आयोजना धनगढीका प्रमुख र केही स्थानीयको चलखेलमा मोहना नदी किनारमा सडक निर्माण भइरहेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोकदेखि मोहना पुलसम्म हुलाकी सडकको सट्टा हुलाकी बाइपास सडक निर्माण भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको निर्णय विपरित हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले मुख्य सडकबाट विस्तार नगरेर क्याम्पस चोकदेखि मोहना पुलसम्मको हुलाकी सडकको सट्टा बाइपास सडक अधिकांश मोहना नदी छेउमा निर्माण गरिरहेको छ।
त्रिनगर भन्सार कार्यालय छेउमा रहेको गल्लीबाट हुलाकी सडक निर्माणका लागि सर्वे भएको थियो तर अहिले सर्वे अनुसार नभएर आयोजना धनगढीले नियम विपरित मोहना नदी किनारमा सडक निर्माण गरिरहेको छ। जुन सडक बहुसंख्यक जनताको जीवनसँग सरोकार राख्ने सडक हो। अहिले निर्माण भइरहेको सडकभन्दा माथि वर्षात्‌को  समया मोहना नदीको पानी पुग्ने गरेको छ। साथै हरेक वर्ष मोहना नदीले कटानसमेत गरिरहेको छ।
भन्सार रोडमा बस्दै आएका गोपाल थापाले भने मोहना नदी बर्खामा सडकभन्दा माथि आउने भएकाले सडक निर्माणको औचित्य नभएको बताए। अहिले निर्माण भैरहेको हुलाकी सडक नदीको छेउ छेउमा भैरहेकोले दिगोपनको समस्या रहेको उनले बताए।

‘नेपालगन्ज र बुटवलमा पनि पहिले सडक निर्माणका लागि जनताले अवरोध गरेकै थिए,’ उनले भने, ‘पछि घरहरु भत्काएरै सडक निर्माण गरेको हो, त्यसैगरी यो पनि जुन ठाउँमा नाप नक्सा भएको थियो त्यहीबाट जानुपर्छ।’

सरकारको गौरवको योजना अन्तर्गत पर्ने हुलाकी सडकलाई नदीको छेउमा निर्माण गरेर योजना कार्यालय धनगढीका प्रमुख रामकुमार जैसवाल र ठेकेदारको मिलेमतोमा बजेट खर्च गर्ने काम भैरहेको छ।

२०७४र७५ मा साँढे ६ किलोमिटर सडक निर्माणका लागि ठेक्का भएको थियो। ठेक्का भएको दिनदेखि डेढ वर्षमा निर्माणको कार्य सम्पन्न गरिसक्नुपर्ने थियो तर हुलाकी सडक आयोजना धनगढी र ठेकेदारको बदमासीले सो सडकको निर्माणका लागि म्याद थप गरेको देखिन्छ।

सुरुमा १८ करोडको लागतमा निर्माणका लागि रमन र केएस जेपी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। विस्तारै सडकमा स्टमेटभन्दा बढी अनावश्यक कुराहरु थप गर्दै जाँदा झण्डै साँढे ६ किलोमिटर सडक निर्माणका लागि २३ करोड रुपैयाँ खर्च भैसकेको छ। अझै सडकको सम्पूर्ण काम पूरा भएको छैन। २३ करोड खर्च हुँदा पनि अझै दुई वटा पुल निर्माणको कार्य भने अलपत्र परेको छ।

धनगढी उपमहानगरपालिका ८ राधा स्वामी खोला र वडा नम्बर १ र २ जोड्ने कैलाली नालामा निर्माण हुने पुलको अझै टुङ्गो लागेको छैन। आयोजना धनगढीले पुल निर्माणका लागि चासो नदिँदा वर्षात्‌को समयमा आवतजावतमा समस्या भएको त्यहाँका स्थानीयहरुले बताएका छन्।

बाइपास सडक निर्माणका लागि सुरुमा १५ मिटरको चौडा बनाउनका लागि रेखाङ्कन गरिएको स्रोतले बतायो। स्रोतका अनुसार योजना धनगढीले भने जनतालाई झुक्याएर १२ मिटर मात्र हो भनेको छ। ऐन अनुसार बाइपासमा जहिले पनि सिंगल लेन हुनुपर्ने हो तर त्यहाँ डबल लेनको सडक बनाइएको छ।

स्रोतले दिएको जानकारी अनुसार बाइपास सडकमा पर्खाल हाल्ने स्टमेट नहुँदा पनि खर्च बढाउनका लागि तलबाट माथिसम्म ग्याविन लगाएर पर्खाल लगाएको देखिन्छ। जसले गर्दा स्थानीयको घर र खेती वर्षात्‌को समयमा डुवान हुने भएको छ। योजना कर्यालय धनगढी र ठेकेदारबीचको मिलेमतोका कारण सडकको निर्माण कार्य गुणस्तरहीनसमेत भएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन्। सडकमा ग्रावेल पनि कमसल र माटोको मात्रा पनि बढाएको उनीहरुको आरोप छ।

यता हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख राम पुकार जैसवालले दुई पुलको डिजाइन भैसकेको तर निर्देशनालयले स्वीकृत नगरेको बताए। उनले आउने वर्षमा सवै काम सम्पन्न हुने बताएका छन्। उपमहानगरपालिका र स्थानीयको सहमतिमा मोहना नदीको छेउबाट सडक निर्माण गरिएको उनको दावी छ।

‘सुरुमा नक्साङ्कन भएको ठाउँबाट कुराकानी भएको थियो तर स्थानीयको घरहरु भत्किने भएकाले त्यहाँ सडक निर्माण गर्न दिएन,’ उनले भने, ‘पछि उपमहानगरपालिका र स्थानीयकै सहमतिमा मोहना छेउबाट निर्माण कार्य सुरु गरिएको हो।’

तर यसरी स्थान परिवर्तन गर्दा विभागको स्वीकृति लग्नुपर्ने भएपनि विभागलाई जानकारीसमेत नगराइएको बुझिएको छ।

आयोजना धनगढीका प्रवक्ता तथा इन्जिनियर पदम मडैले नदीको तलबाट तटबन्ध लगाएर सडक निर्माण गरिने बताए। उनले क्याम्पस चोक देखि मोहना पुलसम्म बाइपासभन्दा पनि हुलाकी बाइपास नै भन्ने गरिएको बताए। पहिलेको सर्वे गरिएको ठाउँबाट जग्गा सानो भएकाले उपमहानगरपालिकाको सहमतिमा र आयोजना निर्देशनालयको अनुरोधमा सडक निर्माणको काम अगाडि बढाइएको उनको दावी छ।