कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा अवस्था जटिल

कालो ढुसीका संक्रमित थपिँदै, समयमै उपचार नगराउँदा अवस्था जटिल

 नेपालमा कोरोना संक्रमणको दोस्रो लहरसँगै देखा परेको कालो ढुसी म्युकर माईकोसिसका संक्रमित थपिँदै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २२ जनामा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। करिब एक महिना अघि १० जनामा संक्रमण पुष्टि भएको थियो।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मात्र कालो ढुसी संक्रमण भएका १३ जना बिरामी आईसकेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनले भने ‘कालो ढुसी संक्रमित दाङका एक जनाको मृत्यु भईसकेको छ। एक जनाको देब्रे आँखा फाल्नुपर्ने अवस्था छ, त्यसको लागि तयारी गरिरहेका छौं।’

रौतहटको मौलापुर नगरपालिका ६ का ४५ वर्षीय एक पुरुषको कालो ढुसी संक्रमणकै कारण देब्रे आँखा निकाल्नुपर्ने अवस्था आएको हो। समयमै उपचार नगर्दा निकै जटिल अवस्था आउने, आँखा नदेख्ने जस्ता समस्या आउने चिकित्सकहरु बताउँछन्।

३ दिन अघिमात्रै त्रिवि अस्पतालमा चार जना कालो ढुसी संक्रमित भर्ना भएका छन्। ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कालो ढुसी संक्रमित २२ मध्ये १६ जनाले मात्र कालो ढुसीको लागि प्रयोग हुने औषधी ‘एम्फोटेरेसिन बी ’ पाएका छन्। ६ जना संक्रमितलाई वैकल्पिक औषधी ‘पोसाकोनाजोल’ प्रयोग गरिएको छ।

ुएम्फोटेरेसिन बीु को अभावमा पोसाकोनाजोलु प्रयोग गरिएको बताइएको छ। मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले भने ‘कालो ढुसी संक्रमित एक जनाको ज्यान गएको छ, तर मृत्युको कारण भने कालो ढुसी नै भएको यकिन छैन।’

संक्रमित बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै औषधी व्यवस्था विभागले ‘पोसाकोनाजोल’ नेपाल ल्याइसकेको छ। ‘केही दिन अघि मात्र औषधी ल्याइएको छ, अहिलेलाई हामीसँग औषधी अभावको अवस्था छैन।’

विभागका सूचना अधिकारी सन्तोष केसीले भने ‘पोसाकोनाजोल र एम्फोटेरेसिन बी’ का लागि छिमेकी राष्ट्र बंगलादेश लगायतका देशहरुसँग पहल भईरहेको छ।’

कालाज्वरको लागि समेत प्रयोग हुने औषधी ‘एम्फोटेरेसिन बी’ यसअघि भारतबाट आयात हुँदै आएको थियो।

एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ। भारतले औषधी निर्यातमा रोक लगाएका कारण अन्य देशबाट ल्याउने तयारी भईरहेको व्यवस्था विभागले जनाएको छ।