म्याग्दी जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइतेमध्ये चालककाे अवस्था गम्भीर

म्याग्दी जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइतेमध्ये चालककाे अवस्था गम्भीर

 म्याग्दीको मंगला गाउँपालिका- १ , पुर्णगाउँतर्फ जाँदै गरेको जीप बुधबार दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि वडा नम्बर १ पुर्ण गाउँ जाने क्रममा वडा नम्बर २ को मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएकाे हाे । त्यस क्रममा मंगला- १ का १३ वर्षीय विमल विक र बेनी नगरपालिका- ५ की २० वर्षीया सबिना भण्डारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

जीपमा ८ जना सवार थिए । तीमध्ये ६ जना घाइते भएका हुन् । जसमा वर्ष २५ का सुजन आचार्य,  वर्ष २६ की एन्जिला भण्डारी, वर्ष २३ का चालक अनिल रसाइली, वर्ष ८की एडीना नेपाली, वर्ष ३५ की गीता खत्री र वर्ष ३५ की अमृता राम्जाली घाइते भएका छन् ।

सूचना अधिकारी गुरुङका अनुसार घाइते सबै मंगला गाउँपालिका- १  का हुन् । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । रातको समय भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन ।

टाउकोमा चोट लागेका चालक रसाइलीको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते आचार्यको निधारमा चोट, अमृताको टाउको र घुँडामा तथा एन्जिलाको ओठ र घुँडामा सामान्य चोट लागेको छ । त्यस्तै एडिनाको बाया आँखाको साईडमा सामान्य चोट लागेको छ भने गीतालाई बाहिरी चोट लागेको छैन ।