प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उहाँले बहस सुरु गर्नुभएको हो ।

सरकारी वकिलले बुधवार बहस सकेपछि प्रधानमन्त्रीका पक्षबाट बहस सुरु भएको हो । बुधवार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो । प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्नुहुनेछ । प्रधानमन्त्रीका निजी कानुन व्यवसायीका लागि सात घण्टा समय छुट्टाइएकामा आजका लागि चार घण्टा ३० मिनेट समय बाँकी छ ।

आइतबार रिट निवेदक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।

प्रधानमन्त्री पक्षको बहसपछि सभामुखका कानुन व्यवसायीले एक घण्टाको समय पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ । उक्त विवादमा ३० रिट निवेदन परेका थिए ।