कर्ण थापाको माधव नेपाललाई सुझाव : बलियो एमाले बनाउन अब अलमल नगरौं

कर्ण थापाको माधव नेपाललाई सुझाव : बलियो एमाले बनाउन अब अलमल नगरौं

नेकपा एमाले सुदूरपश्चिमका नेता कर्ण थापाले माधव समूहलाई पार्टीमै रहन आग्रह गर्दै यसैमा हितकर हुने सुझाव दिएका छन् ।सामाजिक सञ्जालमार्फत उनले बुधबारको बैठकले पार्टीभित्रको सबै तिक्तता हटाएको बताएका छन् ।

‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चापरिचर्चा भए, छलफल र बहसहरू भए । थुप्रै सर्तहरू राखिए र आधारहरू पनि तयार पारिए ’उनले लेखेका छन् ‘हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरूको निचोड निकालेको छ ।’

बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।

अब अलमल गर्न नहुने थापाको तर्क छ । उनले भनेका छन् , ‘नियतमा खोट छैन भने अब अलमल गर्नु वुद्धिमत्तापूर्ण हुँदैन । एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मूल्य र मान्यताका लागि सङ्घर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौँ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’