मेलम्चीकाे पानी आइपुग्न भदाै अन्तिमसाता लाग्ने

मेलम्चीकाे पानी आइपुग्न भदाै अन्तिमसाता लाग्ने

मेलम्चीको पानी बर्षायाम सकिएपछि मात्रै उपत्याकाबासीले पिउन पाउने भएका छन्। बाढी पहिरोको कारण क्षति पुगेपछि मेलम्चीको पानी उपत्यकामा आइपुग्न भदौ अन्तिमसाता लाग्ने देखिएको हो।

बर्षातको समय सकिएपछि मात्रै उपत्यकाबासीले खानेपानी पिउने पाउने सम्भावना रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाढीले धेरै संरचनामा क्षति पुगेकाले समयमा पानी आउन नसक्ने बताए। असार १ गतेबाट सुरुङ परीक्षण गर्न पानी बन्द गरिएको थियो।

परीक्षणमा करिब दुई महिना समय लाग्ने आयोजनाले जनाएको थियो। ‘मेलम्चीको पानीमा बाढीले धेरै क्षति पुर्‍याएको छ,बनाउन समय लाग्छ,सबै काम सकियो भने भदौ अन्ततिर पानी आउन सक्छ,’उनले भने।

उनका अनुसार बढीले खानेपानीको हेडबक्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब दुई सय मिटर डाइभर्सन माटोले पुरिएको छ। गत १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले आयोजनामा करिब एक अर्बको क्षति पुगेको उनको भनाइ छ। 

अहिले सम्म सवारीसाधन लगेर त्यहाँ जान नसकिएको उनले जानकारी दिए। ‘हेडबक्स मर्मत गर्न डोजर ल्याउनुपर्छ,’उनले भने,‘अहिले त्यहाँ लान सकिने अवस्था छैन,यसको लागि समय लाग्छ।’

बाढीले क्षति पुर्‍याएको सबै संरचना बनाए पनि बर्षातको सिजन नसकिएसम्म उपत्यकाबासीले पानी पिउन नपाउने उनले बताए। भने,‘पानी परेपछि त्यहाँ लेदोसहितको धमिलो पानी आउँछ,धमिलो पानी पिउन मिल्दैन,त्यसैले पिउन योग्य पानीको लागि त अब बर्षातको समय कटेपछि मात्रै हुन्छ।’

आयोजना सुरु भएको दुई दशकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसालेका थिए। 

पानी भने चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी ल्याएर वितरण गरिएको थियो। पछि दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो। 

मेलम्चीको पानी नआउने भएपछि पानी वितरण समेत कम गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार अहिले चार दिनदेखि १२ दिन बिराएर धारामा पानी पठाइएको छ।