सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै

सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । 

सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताउनुभयो । 

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौँ सङ्ख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ । 

हाल प्रयोग विहीन रहेका पानी घट्टलाई विभिन्न जिल्लामा गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्नसक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानी घट्ट लोप हुने अवस्थामा पुगेको पुराना घट्ट सञ्चालन गर्दै आउनुभएका अमरगढी नगरपालिका–७ का घट्टधनी पदमबहादुर कैनीले बताउनुभयो । 

पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् । 

मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलोको रु दुई देखि चार रुपैयाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताउनु्हुन्छ । 

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर घट्टबाट पसिानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारहरूको भनाइ छ ।