ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ।

बिहीबार बुद्धनगरमा बसेको नेता नेपाल समूहको स्थायी कमिटीको बैठकले भोलि संस्थापन पक्षले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीलाई ०७५ जेठ २ मा फर्काएको भनेपनि हिजोको निर्णयलाई स्वीकारेर अघि बढ्न नसक्ने निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए।

नेपाल पक्षले जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय गरेको जनाएकाे छ।

नेता नेपाल समूहको बटमलाइन अनुसार ओलीले हिजो बसेको बैठकले दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर भोलि केन्द्रीय कमिटीको बैठक राखेका थिए। बैठकमा उपस्थित हुन नेपाल समूहका सबै नेताहरूलाई पत्र पुगिसकेको छ।

पार्टी एकताको पहल गर्दै दोस्रो तहका नेताहरू एकताको विन्दु पहिल्याउन लागि परेका छन्।