अब सबैलाई खोप दिएर कोरोना रोकथाम गर्छौं : प्रधानमन्त्री ओली

अब सबैलाई खोप दिएर कोरोना रोकथाम गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने बताउनुभएको छ । जिल्ला जिल्लामा खोप अभियान नै चलाएर कोरोना रोकथाममा लाग्ने उहाँले बताउनुभएको हो ।

शनिबार त्रिशुली– ३ बीको प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चीनबाट निरन्तर खोप ल्याइने र क्रमशः सबै नागरिकलाई दिइने बताउनुभएको हो । उहाँले सुरुमा जोखिमयुक्त समूह लाई र त्यसपछि सबै नागरिकलाई खोप दिने बताउनुभयो ।

‘अब लगातार भ्याक्सिन आउँछ, खोपको क्याम्पेन नै सुरू हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौँ, अब अनुकूल स्थितिमा रहेका छौँ ।’

उहाँले एक दुई दिनमै या साता दिनमै खोप लगाउन सम्भव नहुने भएकाले यसको अभियान नै चलाएर अघि बढ्ने बताउनुभयो । साथै अब कोरोनाबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुनेजस्ता उपायहरु खोपमार्फत प्रतिस्थापित गराउने समेत उहाँले बताउनुभयो ।