धनगढीका मनकारी घरबेटी, जसले २ लाख २० हजार भाडा छुट गरे

धनगढीका मनकारी घरबेटी, जसले २ लाख २० हजार भाडा छुट गरे

धनगढीका एक जना घरबेटीले एक महिनाको भाडा छुट गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर २ का नन्दलाल जोशीले एक महिनाको २ लाख २० हजार घरभाडा छुट गरेका हुन्।पूरानो भन्सार रोड नजिकै मुख्य बजारमा रहेका पाँच सटरको भाडा छुट गरेको जोशीले बताए।

कोरोना भाइरस फैलिएपछि जारी भएको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्न निकै समस्या भएको समयमा भाडा मिनाहा गरेपछि ठूलो राहत भएको तन्दुरी बाइटका सञ्चालक मनोज जेठाराले बताए।

पहिलो लहरको कोरोनाले प्रभाव पारेको व्यवसाय लयमा आउने बेला नै दोस्रो लहरको संक्रमण फैलिएपछि पुनः निषेधाज्ञा जारी भएको थियो। उक्त अवधीमा पनि व्यापार व्यवसाय ठप्प हुँदा भाडा कसरी तिर्ने भन्ने चिन्ता रहेकोमा भाडा छुट गरेपछि केही सहज भएको जोशीकै सटरमा व्यवसाय गर्दै आएका नविन विष्टले बताए।

निषेधाज्ञाको समस्या बुझेर घरबेटीले भाडा छुट गरेपछि व्यापारीहरुले घरमालिकलाई खादा ओढाएर सम्मान गरेका छन्। घरबेटीले एक महिनाको भाडा छुट गरेपछि आफु निकै खुसी भएको ग्ल्यामर ब्यूटीपालरकी सञ्चालिक लक्ष्मी भूषालले बताइन्।