महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

महाकाली प्रादेशिक अस्पताललमा दोस्रो चरणको कोरोना भाइरस महामारीमा उपचार गराउनेमा युवाको संख्या बढी छ। कोरोना संक्रमित भई उपचार गराउनेमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी रहेको अस्पतालको तथ्यांकमा उल्लेख छ।

यस उमेर समूहका २३० जना, ४० देखि ६० वर्ष उमेर समूहका १७१ जना संक्रमितले उपचार गराएका छन्। यसैगरी ६० वर्षमाथि १६ जना, ११ देखि २० वर्ष उमेर समूह २४ र सबैभन्दा कम १० वर्षसम्मका बालबालिका ६ जनाले अस्पतालमा उपचार गराएका छन्।

चैत दोस्रो सातादेखि असारको दोस्रोसम्म अस्पतालमा ५०० भन्दा बढी कोरोनाका बिरामीको उपचार गरेका छन्। अस्पतालका अनुसार दोस्रो चरणको महामारीमा अस्पातल आउने महिलाभन्दा बढी पुरुष छन्। यस अवधिमा ३५५ पुरुष र १८२ महिला गरी ५३३ जना अस्पताल भर्ना भएका छन्। कोरोना महामारी फैलिएको पहिलो वर्षमा ३०० बिरामी अस्पताल भर्ना भएका थिए।

कोरोना महामारी सुरु भएपछि अस्पताल भर्ना भएका ८३३ मध्ये ७२४ जना निको भएर घर फर्किएका छन्। त्यसमध्ये दोस्रो चरणमा ८१ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्। अन्य १६ जनालाई उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ। अहिले पनि केही विरामी अस्पतालमै उपचारत रहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए। पहिलो चरणमा कसैको पनि मृत्यु नभएको उनले बताए।

अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार अस्पतालको आकस्मिक सेवामा ६४२ जना शंकास्पद बिरामी पुगेका छन्। तीमध्ये ३८० जनामा संक्रमण देखिएको थियो। त्यसमध्येका २२१ जना कोभिड आइसोलेसन वार्ड, एचडियु वार्डमा ३६ जना र आइसियुमा ३१ जना पठाइएका छन्।

अस्पतालमा भर्ना भएकामध्ये भ्याक्सिन लगाएका तीनजनाको मृत्यु भएको छ।