असार २४ देखि चीनबाट क्रमबद्धरुपमा ३० लाख डोज खोप नेपाल आउने

असार २४ देखि चीनबाट क्रमबद्धरुपमा ३० लाख डोज खोप नेपाल आउने

लामो समय खेलवाड नै गरेपछि सरकारले चीनबाट खोपको क्रमबद्ध आपूर्ति हुने गरी व्यवस्था मिलाएको छ । खोपको विषयलाई लिएर जनस्तरबाट चर्को आलोचना भोगेपछि सरकारले असार २४ गतेदेखि कोरोनाविरुद्धको खोप चीनबाट प्रत्येक हप्ता आपूर्ति हुने व्यवस्था मिलाएको हो ।

यो व्यवस्था गरेसंगै सरकारले अब गाउँगाउँमा खोप भन्ने भाषण नै फलाक्न थालेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे जस्तो २०२१ भित्रै सबै नेपालीको शरीरमा खोपको डोब भने नदेखिने निश्चित छ ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ । यसक्रममा चीनबाट कूल ३० लाख खोप क्रमवद्ध रूपमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको ४० लाख डोज खोप खरिदका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र अब पर्याप्त मात्रामा खोप आपूर्ति हुने सरकारी स्तरबाटै बताइएको छ ।

खोप भण्डारणको अवस्थालाई मध्यनजर गर्दै असार २४ देखि हरेक हप्ता १० लाख डोज खोप चीनबाट आपूर्ति हुन लागेको हो । यसअघि नेपाललाई चीनले १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो। त्यसैगरी भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र विश्वव्यापी खोप वितरण अभियान कोभ्याक्समार्फत् ३ लाख ४८ हजार कोभिशील्ड खोप नेपालले प्राप्त गरेको छ।

सेरम कम्पनीलाई १० लाख डोज कोभिशील्ड खोपको लागि भुक्तानी दिसकेको छ । अगामी अक्टोबरसम्म कोभिशील्डको १० लाख डोज उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ ।

नेपालको कूल जनसङ्ख्याको २० प्रतिशत अर्थात् १ करोड २६ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता कोभ्याक्सले गरेको भएपनि सन २०२१ भित्र सबै मात्रा प्राप्त हुने सम्भावना छैन । जुलाई महिना भित्र साढे ३ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी कोभ्याक्सले दिएको छ ।

दुई साता अघि अमेरिकाले नेपाल सहित १८ वटा देशका लागि एक करोड ७० लाख मात्रा खोप उपलब्ध गराउने जनाएको थियो। ती खोपहरु पनि कोभ्याक्स मार्फत आउनेछन् । तर कहिले आउछन् त्यस्को टुंगो अहिलेसम्म लाग्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेपनि त्यो भने पूरा हुने देखिदैन । नेपालले खोप खरिद गर्न राखेको प्रस्तावमा जोन्सन एन्ड जोन्सन नोभ्याक्स,सेरम लगायतका ५ कम्पनीहरुले यसबर्ष खोप उपलब्ध गराउन नसक्ने बताएका छन् ।

बजेटमा खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म नेपालको कुल जनसङ्ख्याको ९ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् । बिज्ञहरुले कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले छिटो भन्दा छिटो सबै नेपालीलाई खोप दिन सके कोरोनाबाट हुने मानवीय क्षति कम गर्न सकिने सुझाब दिदै आएका छन् ।