उरुग्वे कोपा अमेरिकाबाट बाहिरियो, कोलोम्बिया सेमिफाइनलमा

उरुग्वे कोपा अमेरिकाबाट बाहिरियो, कोलोम्बिया सेमिफाइनलमा

उरुग्वे कोपा अमेरिकाबाट बाहिरिएको छ । आइतबार बिहान भएको क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा कोलोम्बियासँग ४-२ गोल अन्तरले पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।

निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

गोलरक्षक डेविड ओस्पिनाले टाइब्रेकरमा दुई बचाउ गरेपछि कोलोम्बियाले सेमिफाइनलमा स्थान बनायो । टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाको जित पक्का गरेका थिए ।

कोलोम्बियाका लागि भने सबै ४ प्रहार गोल भएको थियो । कोलोम्बियाका लागि दुभान जपाटा, देभिन्सन सान्चेज, येरी मिना र मिगुएल बोर्जाले गाेल गरेका थिए ।

उरुग्वेका लागि एडिन्सन काभानी र लुइस सुआरेज गाेल गरे भने जोसे जिमिनेज र भिनाको प्रहार विफल पार्दै खेल कोलोम्बियाले जितेको थियो ।

कोलोम्बियाले अब आज हुने अर्जेन्टिना र इक्वेडरबीचको अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा पेरु र ब्राजिलले भिड्नेछन् ।