मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने

मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने

मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने भएको छ। नगरपालिकाले रेसुङगा बहुमुखी क्याम्पससँग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

शिक्षामा गुणस्तर ल्याउन शिक्षक पढाउने रणनीति लिएको भण्डारीको भनाइ छ। पहिलो वर्ष गाउँपालिकाले ४० जना शिक्षक पढाउन दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्दै सम्झौता भएको भण्डारीले जानकारी दिए।

शिक्षक दक्ष भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष शोभाखर गिरीले बताए। यस कार्यक्रममा शिक्षकलाई मात्र नभई स्नातक गरेका अन्य व्यक्ति पनि सहभागी हुन सक्ने गिरीको भनाइ छ। 

यस्तै, गाउँपालिकाले पुराना शिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने निष्कर्ष पनि निकालेको छ। शिक्षक पेशाबाट पेन्सन पाकेका तर उमेर हदबन्दी नलागेका शिक्षकले यदि स्वेच्छिक रुपमा अवकाश लिन चाहेमा उनीहरुलाई ५० हजार रुपैयाँसहित सम्मान गरी बिदाई गर्ने पनि गाउँपालिकाले जनाएको छ। मालिका गाउँपालिकाभित्र ५४ वटा सामुदायिक विद्यालय रहेका छन्।