विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

विश्वकै सस्तो स्मार्टफोन ल्याउँदै जियो

भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वकै सस्तो स्मार्टफोन ल्याउने भएको छ। भारतीय अखबार मिन्टका अनुसार जियोले गुगलसँगको सहकार्यमा नयाँ स्मार्टफोन ‘जियोफोन नेक्स्ट’ सार्वजनिक गर्ने भएको हो।

यो भारतमा मात्र नभइ विश्वकै सबैभन्दा सस्तो मूल्यको स्मार्टफोन हुने बताइएको छ। रिलायन्स कम्पनीको वार्षिक साधारण बैठकको क्रममा नयाँ ‘जियोफोन नेक्स्ट’को फोटो सार्वजनिक गरिएको थियो। फोटोमा देखिएअनुसार यस फोनमा पूर्ण टच डिस्प्ले हुनेछ। यसको पावर र भोलुम बटन फोनको दायाँपट्टि छेउमा हुनेछ।

यो स्मार्टफोनमा भोइस असिस्टेन्ट फिचर रहेको छ। यसमा भएको ‘स्मार्ट क्यामरा’ फिचरमा एआर फिल्टर पाउन सकिन्छ। यो फिल्टरबाट प्रयोगकर्ताले डिजिटल चित्रहरु वास्तविक दुनियाँ रहेको अुनभव लिन सक्छन्। 

‘जियोफोन नेक्स्ट’मा गुगल र जियोका सबै एपहरु हुनेछ। साथै यो फोनले एन्ड्रोइड प्ले स्टोर पनि समर्थन गर्नेछ। 

‘गुगलको सहकार्यमा बनेको सस्तो जियो स्मार्टफोनको उत्पादनपछि हामी यस्तै अन्य चरणका काम गर्न उत्साहित छौँ,’ वार्षिक साधारण बैठकको क्रममा गुगलका सिइओ सुन्दर पिचाईले भने, ‘हाम्रो टिमले ‘जियोफोन नेक्स्ट’को लागि विशेष एन्ड्रोइड ओएस संस्करण बनाएको छ। यसमा भाषा र अनुवादको फिचर, उत्कृष्ट क्यामरा र नयाँ एन्ड्रोइड अपडेटको समर्थन छ।

यो फोन भारतका लागि बनाइएको हो र यसले पहिलोपटक इन्टनरेट चलाउने लाखौँ प्रयोगकर्ताहरुका लागि नयाँ सम्भावनाको नजिक ल्याउने छ।’ जियोले हालसम्म ‘जियोफोन नेक्स्ट’का सबै फिचरहरु सार्वजनिक गरेको छैन। कम्पनीले यसका सबै जानकारी फोन सार्वजनिक गर्ने मिति नजिकतिर खुलासा गर्न सक्ने अनुमान छ। 

‘जियोफोन नेक्स्ट’ आधिकारिक रुप सेप्टेम्बर १० मा बजारमा उपलब्ध हुनेछ। सुरुमा यो फोन भारतमा सार्वजनिक हुनेछ र पछि अन्य देशहरुमा पाइने मिन्टले जनाएको छ।