अछाममा जारी निषेधाज्ञा असार २८ गतेसम्म लम्ब्याइयो

अछाममा जारी निषेधाज्ञा असार २८ गतेसम्म लम्ब्याइयो

अछाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा यही असार २८ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञाको अवधि सोमबार आज राती १२ बजेदेखि सुरु भई असार २८ गते राती १२ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।

पछिल्लो केही दिन यता जिल्लामा कोरोना सङ्क्रमणको दर घटे पनि भारतबाट जिल्ला भित्रिने क्रम जारी रहेको र भारतमा डेल्टा प्लस भाइरसको संक्रमण फैलिरहेकाले जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी मल्लले बताउनुभयो ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कन परेमा स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

यस्तै आर्थिक गतिविधि सञ्चालन गर्दा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, सेनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ्ग मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर , मदिरा पसल , होटेल , लज , रेस्टुरेन्ट, बार , जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय शैक्षिक संस्था आदि सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।

होटल रेस्टुरेन्ट र चिया पसलबाट तयारी खाद्य पदार्थ प्याकिङ गरी बिक्री गर्न पाइने प्रमुख जिल्ला अधिकारी मल्लद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

उपभोग्य बस्तुको कृत्रिम अभाव देखाई मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने जम्मा खोरी गर्ने, लुकाउने आपूर्तिमा अवरोध सिर्जना गर्ने व्यक्तिलार्ई कानुन बमोजिम कारबाही गरिने समेत आदेशमा उल्लेख गरिएको छ ।

यस्तै सेवा प्रदायक सरकारी निकायहरूले सेवा ग्राहीको चाप अनुसार जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरी आन्तरिक रुपमा कार्य तालिका बनाई सेवा प्रवाह गर्न सक्ने प्रशासन कार्यालय अछामले जनाएको छ ।

यस्तै जिल्ला भित्र मात्र सञ्चालन हुने सार्वजनिक तथा निजी साना सवारी साधनहरू अत्यावश्यक कामका लागि चलाउनु परेमा गाडीको सिट क्षमता, ब्लु बुक बमोजिम मात्र यात्रु राखी स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला बाहिर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरूले जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य बनाउनु पर्नेछ ।

यसअघि अछाममा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रण गर्न वैशाख १९ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।