चिनियाँ राष्ट्रपतिको भर्चुअल सम्बोधन : प्रधानमन्त्री ओलीसहित प्रमुख नेताहरू सहभागी हुँदै

चिनियाँ राष्ट्रपतिको भर्चुअल सम्बोधन : प्रधानमन्त्री ओलीसहित प्रमुख नेताहरू सहभागी हुँदै

आज चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्ने भर्चुअल सम्बोधनमा नेपालबाट प्रधानमन्त्रीसहित प्रमुख नेताहरु सहभागी हुँदैछन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको १०० वर्ष पुगेको अवसरमा चीनले शतवार्षिकी मनाइरहेको छ । यसै क्रममा आयोजना गरिएको राजनीतिक दलसम्बन्धी विश्वस्तरीय सम्मेलनमा आज राष्ट्रपति सीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भर्चुअल माध्यमबाट हुन लागेको उक्त सम्मेलनमा विश्वका विभिन्न देशका प्रमुख नेताहरु सहभागी हुनेछन् । नेपालबाट पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूले सहभागिता जनाउने बताइएको छ ।

सिपिसीको आयोजनामा हुने उक्त सम्मेलनमा सिपिसीका महासचिव समेत रहेका राष्ट्रपति सी चिनफिङले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दैछन् । उनको सम्बोधन सुन्न विभिन्न देशका नेताहरु आतुर रहेको बताइएको छ । सम्मेलनमा विश्वका १६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका ५०० नेता र १ हजार प्रतिनिधिले आआफ्नै स्थानबाट सहभागिता जनाउने सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु जाओमिङले सोमबार जानकारी गराएका थिए ।

‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयक उक्त सम्मेलनलाई चीनको महत्वपूर्ण बहुपक्षीय कूटनीतिक कार्यक्रमका रुपमा हेरिएको छ । यस अवसरमा विश्वका नेताहरूबीच सरकार र प्रशासनसम्बन्धी अनुभव साटासाट हुने सिपिसीको विश्वास छ ।