‘ऐतिहासिक क्रिकेट श्रृंखला विजेता खेलाडीलाई फाप्लामा उतार्दै छौं’ : सुवास शाही

‘ऐतिहासिक क्रिकेट श्रृंखला विजेता खेलाडीलाई फाप्लामा उतार्दै छौं’ : सुवास शाही

बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण माघ २६ गतेबाट धनगढीमा सुरु हुँदैछ। खेलप्रेमी सबैको ध्यान अहिले डीपीएलले तानेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले डीपीएलको तेस्रो संस्करणलाई मान्यता दिएसँगै उक्त प्रतियोगिताले विश्व क्रिकेट जगतको ध्यान आकर्षित गर्न सफल भएको छ। उक्त प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि आयोजक धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष तथा डीपीएलका संयोजक सुवास शाहीसहितको टोली दिनरात लागिपरेको छ।

तीन वर्षदेखि नेपाली क्रिकेट खेलको इतिहासमा पहिलोपटक डीपीएलमा अक्शनको सुरुवात गरेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने व्यक्तिका रुपमा समेत परिचित छन्, शाही यसैको निरन्तरतामा अहिले देशका अन्य ठाउँमा हुने प्रतियोगितामा पनि खेलाडीको अक्शन हुन थालेको छ।

 क्रिकेट अभियन्ताको उपमा पाएका शाहीले दुई वर्षअघि धनगढीस्थित फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने लक्ष्यका साथ ‘ड्रिम फाप्ला अभियान’ सञ्चालन गरेका थिए। प्रस्तुत छ, नेपालमा आजसम्मकै सर्वाधिक धनराशी ३० लाख रुपैयाँ पुरस्कारको यो प्रतियोगिता आयोजना र ‘ड्रिम फाप्ला अभियानका बारेमा प्रतियोगिताका संयोजक शाहीसँग  दिनेश ठकुल्लाले गरेको कुराकानीको सारः

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को तयारी कस्तो हुँदैछ?

–धनगढी प्रिमियर लिगको तयारी लगभग अन्तिम चरणमा पुगिसक्यो। फिनिसिङ गर्न मात्रै बाँकी छ। पिच तयार भइसकेको छ। खेलाडी र अफिसियल आउने क्रम सुरु भइसक्यो। आयोजकको तर्फबाट गर्नुपर्ने अन्य तयारी लगभग पुरा भइसक्यो।

विगतका वर्षमा धनगढी बजारनजिकै एसएसपी क्रिकेट मैदानमा डीपीएल सञ्चालन गरिन्थ्यो। यसवर्ष बजारदेखि करिब पाँच किलोमिटर टाढा फाप्ला क्रिकेट मैदानमा पहिलो पटक खेलाइँदैछ, किन?

–दुई–चार वर्षअघिसम्म पनि धनगढीमा क्रिकेट बुझेका मानिसहरु कमै थिए। त्यसमा पनि निःशुल्क भएपनि हेर्न आउनेको सख्या थोरै हुन्थ्यो। आमजनतालाई क्रिकेट हेर्ने बानी बसाल्नका लागि हामीले बजारनजिकको एसपीए कपदेखि डीपीएलसम्मको आयोजना गरेका थियौँ।

अब त्यो अवस्था छैन। क्रिकेटको यति क्रेज बढेको छ कि, एसएसपी क्रिकेट मैदानमा क्रिकेट हेर्ने दर्शक बढेका कारण विकल्प खोज्नु परेको हो। गतवर्ष स्थान अभावका कारण धेरै दर्शकलाई फाइनलका खेलहरुमा फर्काउनु परेको थियो। त्यसैले यस पटकदेखि फाप्लामा डीपीएल सञ्चालन गरेका हौँ। अब यहीँ नै सञ्चालन हुन्छ।

क्रिकेट हेर्नका लागि टाढा नजिक भन्ने दर्शक छैनन्, फाप्ला क्रिकेट मैदान पनि भरिभराउ हुन्छ। यसअघि एसएसपी क्रिकेट मैदानमा डीपीएल सञ्चालन गरिएपनि फाप्ला क्रिकेट मैदानप्रति नै समर्पित थियो। यसवर्ष बजारबाट टाढा खेल गर्न लागेका कारण दर्शकको सुविधालाई दृष्टिगत गर्दै दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ।

पहिलो पटक फाप्लामा क्रिकेट खेलाइँदैछ, पिचको स्तर कस्तो छ?

फाप्ला मैदानमा पिच अन्तर्राष्ट्रियस्तरको बनाइएको छ। मुम्बईबाट दुई जना र त्रिवि क्रिकेट मैदानका क्यूरेटरसहितको टोलीले तीन महिना लगाएर पिच तयार पारेको हो। यस अवधिमा मैदान तथा ५ वटा पिच निर्माण भइसकेको छ।

फाप्ला क्रिकेट मैदानमा भौतिक संरचना पूरा भएको छैन। दर्शकलाई सहज ढंगले खेल हेर्नका लागि कस्तो व्यवस्था गरिएको छ?

–हो, हालसम्म फाप्लामा मैदान र पिचबाहेकका संरचना बनेका छैनन्। त्यहाँ केही खेलहरु भएपनि उभिएर दर्शकले खेल हेर्नुपर्ने बाध्यता थियो। यसपटक डीपीएलमा भने हामीले करिब ७ हजार दर्शक अटाउने अस्थायी प्याराफिट निर्माण गरेका छौँ। त्यसैले यसपटक दर्शकलाई खेल हेर्न कुनै समस्या हुँदैन।

यसअघिका संस्करण भन्दा यस पटकको डीपीएलमा नयाँ के हुन्छ?

–यस पटकको संस्करणमा हामीले धेरै नयाँ प्रयोग गर्ने प्रयास गरेका छौँ। यूएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० श्रृंखला जितेपछि धनगढीमा खेल्ने खेलाडीहरुले स्थानीय दर्शकहरुलाई रोमाञ्चित पार्नेमा हामी विश्वस्त छौँ। त्यसैले पनि यसपटकको डीपीएल भव्य र ऐतिहासिक हुनेछ।

सबैका लागि नयाँ पनि हुनेछ। क्रिकेट मैदानदेखि खेलको प्रसारण क्वालिटी, प्राविधिक पक्षमा विशेष जोड दिएका छौँ। अनलाइनमा लाइभ स्क्रिनिङको व्यवस्था पनि गरिएको छ। इएसपीएनक्रिकइन्फो लगायतका वेवसाइटहरुमा पनि लाइभ अपडेटको व्यवस्था हुनेछ।

अनलाइनका दर्शकहरुलाई यसपटक डीपीएल क्रिकेट ‘फेन्टासी लिग’को पनि व्यवस्थापन गरिएको छ। यसकारण यसपटकको डीपीएल भव्य र ऐतिहासिक हुने अपेक्षा हाम्रो छ। दर्शकले मैदानमा खेलको मनोरञ्जनसँगै सांगीतिक मनोरञ्जन समेत लिन पाउनेछन्। त्यसका लागि हामीले केही कलाकारलाई आग्रह गरेका छौँ। उनीहरु पनि आउन तयार भएका छन्। प्रत्येक दिन गोलाप्रथाबाट दर्शकलाई आकर्षक पुरस्कारको व्यवस्था गरेका छौँ। योसँगै प्रत्येक दिन एक जना दर्शकले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। छक्का गएको बल क्याच गरेमा पनि १० हजार रुपैयाँ प्रदान गरिनेछ।

टिकटबाट उठेको रकम कसरी सदुपयोग गरिने छ?

हेर्नुस्, पहिलो संस्करणदेखि नै प्रतियोगिताको टिकटबाट उठेको रकम विभिन्न क्षेत्रमा खर्च गर्दै आएका छौँ। गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर ड्रिम फाप्ला अभियान सञ्चालन गरिएको फाप्ला क्रिकेट मैदानका लागि कुल टिकटबाट उठेको रकमको २० प्रतिशत दिएका थियौँ। यसवर्ष पनि ड्रिम फाप्ला अभियानलाई २० प्रतिशत र प्रतियोगितामा समावेश टिमलाई ४० प्रतिशत रकम प्रदान गछौँ। दर्शकले लिग चरणका खेलमा ५० रुपैयाँ, प्लेअफका खेलमा ७५ रुपैयाँ तथा फाइनल खेलमा एक सय रुपैयाँको टिकट काट्नुपर्ने छ।

डीपीएल–३ को उद्घाटन कार्यक्रम कस्तो हुनेछ?

डीपीएल–३ को उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुहुने छ। उक्त कार्यक्रम माघ २६ गते दिउँसो १२ बजे फाप्ला क्रिकेट मैदानमा हुनेछ। त्योभन्दा अघिल्लो दिन क्रिकेट मैदानमा प्रतियोगिताका गुडविल एम्बासडर विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स र ६ वटै टिमका कप्तानको सहभागितामा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम छ। रोड्स प्रतियोगिता अवधिभर धनगढीमा नै रहने छन्।

कहिलेसम्ममा बन्ला फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान?

–‘ड्रिम फाप्ला अभियान’ एउटा गतिमा हिँडिसक्यो। अब झनै गति लिन्छ। डीपीएल–३ फाप्ला मैदानमा गर्दैछौँ, त्यसले ‘ड्रिम फाप्ला अभियान’लाई तीव्र रुपमा अगाडि बढाउन दवाव सिर्जना गर्छ। सबै सरोकारवाला ‘ड्रिम फाप्ला अभियान’लाई अगाडि बढाउन सकरात्मक देखिएका छन्।

फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड र धनगढी उपमहानगरपालिकाले एक करोड रुपैयाँ छुट्याएको छ। केन्द्र सरकार पनि यस विषयमा सकरात्मक छ। यसलाई पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) मोडेलमा अघि बढाउँदै लैजान आवश्यक छ। अब ‘ड्रिम फाप्ला अभियान’ले गति लिन्छ, र सन् २०२० मा फाप्ला क्रिकेट मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ।