स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।

पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।