देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको सुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्बाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो यति बेला किसानलाई छ ।

किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनिट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सिमे भूमेलाई पूजा गरी बीउ चढाएर रोपाहारहरूले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगर फाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।

यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको मालिका गाउँपालिका–५ की अममति फगामी झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुन्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके”, ७४ वर्षीया फगामीले भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरी बुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिर्तीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी–२ खबरका अगुवा कृषक चन्द्रबहादुर कार्कीले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”

कृषिसँग नेपालीहरूको जीवन पद्धति पनि जोडिएको छ । ऐँचो पैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलनहरू भएका बुढापाकाहरू बताउँछन् । यिनै प्रचलनहरूको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार अबिरकुमार श्रेष्ठले बताउनुभयो ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा बिस्तारै हराउँदै छ । अहिले कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले गाउँमा जनघनत्व बढेको भएर अर्मपर्म गर्नेहरू बढेका भए पनि यो अस्थायी भएको स्थानीयवासीको भनाइ छ । म्याग्दीमा असार तेस्रो सातासम्म ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको स्थानीय तहका कृषि प्राविधिकहरूले जानकारी दिएका छन् ।