म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङमा खहरे खोलामा आएको बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ ।
खहरे खोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुवैको शव फेला परेको बताउनुभयो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ अन्य घरहरुमा पनि क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी व्यवस्थापनमा जुटेको बताउनुभयो ।