राष्ट्रिय सभामा बुट्टा भरेकाे राजनीति नगराैँ : खिमलाल भट्टराई

राष्ट्रिय सभामा बुट्टा भरेकाे राजनीति नगराैँ : खिमलाल भट्टराई

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राष्ट्रिय सभामा 'कस्मेटिक' (बुट्टा भरेकाे) राजनीति नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ ।’

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उहाँले सरकारका काम कारबाहीको बचाउ गर्नुभयो । राष्ट्रिय सभा सदस्य भट्टराईले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधि सभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन प्रतिनिधि सभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्काे औचित्य के रहन्छ ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधि सभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’

उहाँले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य भट्टराईले सरकार बनाइदिनुपर्‍याे भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै उहाँले पूर्वप्रधानमन्त्रीहरूलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उहाँले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गर्नुभयो ।