राष्ट्रपतिले भाईलाई नै ‘प्रधानमन्त्री नियुक्ती गर्छु’ भन्ने परिस्थिति आयो : सांसद् विडारी

राष्ट्रपतिले भाईलाई नै ‘प्रधानमन्त्री नियुक्ती गर्छु’ भन्ने परिस्थिति आयो : सांसद् विडारी

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रपतिले भाईलाई प्रधानमन्त्रीमा नियुक्ती गर्ने परिस्थिति आएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले राष्ट्रपतिले संविधान उल्लङ्घन गर्दै जे पनि गर्न थालेको भन्दै भाईलाई नै प्रधानमन्त्रीमा नियुक्ती गर्ने परिस्थिति उत्पन्न हुन लागेको बताए ।

उनले भने, ‘यदि नेपालको संविधानमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्ने छ लेखेको भए, आहा म त मेरै भाइलाई नियुक्त गर्छु, संविधानले त राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइलाई गर्न पाइँदैन, अरूलाई गर्न पाउँदैन भनेर लेख्या छैन । त्यस कारण म त गर्छु भन्ने खालका परिस्थिति देशमा आयो । यो बढो विडम्बनाको परिस्थिति हो ।’

भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको तर, नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रूपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको उनको भनाइ छ ।

भारतजस्तै लोकतान्त्रिक देशहरू क्यानडा, अस्ट्रेलियामा पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको र त्यहाँ कहिल्यै विवाद नभएको उनले बताए ।

तर, लोकतान्त्रिक देश मानिएको भारतले नेपालमा संविधान बनाउने बेलामा ठूलो दबाब दिएको पनि उनले बताएका छन् । उनका अनुसार संविधान नबनाऊ भनेर भारतले दूत पठाएको छ ।

साथै, संविधान बनेलगत्तै संविधान ध्वस्त पार्ने भारतको योजना त्यही बेलामा बनेको पनि उनको अरोप छ । उनका अनुसार संविधान बनाउने बेलामा धारा ७६ को बारेमा बोलेका कुराको रेकर्ड गायब पारिएको छ ।

दोस्रो संविधानसभामा भएको छलफलको रेकर्ड गायब पारिएको उनको भनाइ रहेको छ ।

त्यस्तै, एउटै प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु घोर महाअपराध भएको प्रति भत्र्सना गरेका छन् । उनले भने, ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानासाहले गर्दैन । प्रतिनिधि सभा जनताको सभा हो । चुनाव त संविधानले भने अनुसार हुन्छ । प्रधानमन्त्रीले भने अनुसार हुने हो र ? हाम्रो संविधानमा त्यो लेखेको छ र ? संविधानले जे लेख्छ चुनाव त्यही बेलामा हुन्छ ।’