कोरोना विरुद्धको भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै

कोरोना विरुद्धको भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । बेलुकी चीन जाने निगमको वाइडबडी जहाजले भोलि खोप नेपाल ल्याउने कार्यतालिका छ । आजदेखि साउन ८ गतेसम्म  तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।