कांग्रेस बझाङको नेतृत्व सहमतिमै चयन गर्छौं : सिंह

कांग्रेस बझाङको नेतृत्व सहमतिमै चयन गर्छौं : सिंह

नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ।

बझाङ जिल्लामा पनि कांग्रेस महाधिवेशनको चहलपहल बढ्न थालेको छ। जिल्ला सभापति पदमा आकांक्षीहरू नखुलेपनि भित्रभित्रै कसरत भने शुरू भइसकेको छ। कसरी टीममा पर्ने र केन्द्रीय नेताको राय र सल्लाह अनुसार अगाडी बढ्ने भन्दै कसरत शुरू हुन थालेको हो।

साउन १२ गते तोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बझाङ जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिकाका ९४ वटा वडा बाट १६ जना क्रियाशिल सदस्यहरूले जिल्ला अधिवेशनमा सहभागीता जनाउन पाउने कांग्रेस बझाङका पूर्वसभापति पृथ्वीबहादुर सिंहले बताए।

जसमा ३ जना महिला, २ जना दलित, १ जना जनजाति, १ जना पिछडिएको वर्ग तथा अपाङ्गता भएको व्यक्ति जसमा ७ जना आरक्षण र ९ जना खुलाबाट सहभागीता जनाउने भएका छन्‌।

‘हाल जिल्लामा कोही पनि नेताहरू नआएकाले आधिकारिक रूपमा सभापतिको लागि कस्ले उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन। सबै जना अहिले सहमतिकै पक्षमा लागि राखेका छौँ। सामाजिक सञ्‍जाल हेर्दा त आकांक्षी धेरै देखिएका छन्‌। पार्टीले बैठक बोलाएको छैन। पार्टीले साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन र २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ। बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन। यतिखेर हामी सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौ। सहमतिमै सभापति चयन गर्छौं,' सिंहले भने, 'गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा १५ सय ४ जना सहभागी हुने भएका छन्‌। धेरै जना आकांक्षी हुनु स्वभाविकै हो। लोकतान्त्रिक पार्टी भएकाले नेपाली कांग्रेसमा सबैको योगदान ठूलो रहेको छ। हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौँ। कोभिडको कारणले पनि हामी मिलोमतोमै सभापति चुन्ने प्रयास गर्छौं।'

को उठ्ने र को बस्ने भन्नेबारे पार्टी बैठक बसेपछि थाहा हुने सिंहले बताए। 

सभापतिमा १० जनाको चर्चा

सभापतिको लागि जिल्लामा ७ वटा स्थानीय तहबाट १० जना नेता आकांक्षी देखिएका छन्‌।

​जसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजङ बहादुर सिंह, क्षेत्रीय सभापति भरतराज जोशी, जयपृथ्वी नगरपालिकाको मेयरमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट, १३ औं अधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका खडक बहादुर बोहोरा, पार्टी प्रवक्ता पुस्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट १३ औं अधिवेशनमा जिल्ला सभापतिमा पराजित रमेश भन्डारी, थलारा गाउँपालिकाबाट १३ औं अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी फिर्ता गरेका देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट महासमिति सदस्य जगत प्रसाद जोशी, बुंगल नगरपालिकाबाट तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष प्रताप गुरुधामी आकांक्षी देखिएका हुन्‌।

५ वटा स्थानीयतह वित्थडचिर गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका र साईपाल गाउँपालिकाबाट भने सभापतिमा को उठ्ने भन्ने खुलेको छैन।

३८ सय हाराहारी नयाँ क्रियाशील सदस्य थप

बझाङमा यसपटक ३५ देखि ३८ सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन्‌। सूची केन्द्रमा पठाएको र छानबिन भैरहेको छ।

आधिकारिक लिष्ट अहिलेसम्म नपुगेको र बझाङ जिल्लामा कांग्रेसका क्रियाशील सदस्यको संख्या लगभग ७ हजार ७०० पुगेको प्रवक्ता पुस्कल बोहराले बताए।

३ हजार ८०० जना नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो। कांग्रेसमा पुराना ३ हजार ९०० जना क्रियाशिल सदस्य रहेको उनले बताए।