बाढीले दार्चुलामा दुई घर बगे, एक जना बेपत्ता

बाढीले दार्चुलामा दुई घर बगे, एक जना बेपत्ता

 दार्चुलाको नौगाड गाउँपालिकामा बाढीले दुई वटा घर बगाएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घर खार खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिए । पहिरोमै परेर एक जना पुरुष बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा अन्दाजी ३० वर्षीय लक्ष्मण सितोली रहेका छन् ।

बुधबार रातीको अबिरल बर्षाका कारण स्थानीयको घरहरूका साथै लघुजलविद्युत परियोजना र झोलुगें पुलमा समेत क्षति पुगेको छ । घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।