ओमानमा कार्यरत नेपालीलाई दूतावासको अनुरोध : कोरोना बढ्दै छ, समयमै खोप लगाऔँ

ओमानमा कार्यरत नेपालीलाई दूतावासको अनुरोध : कोरोना बढ्दै छ, समयमै खोप लगाऔँ

ओमानमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण बढ्दै गएको छ । ओमानमा रहेको नेपाली दूतावासले ओमानमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै समयमै खोप लगाउन अनुरोध समेत गरेको छ ।

ओमानले अहिले विदेशी नागरिकलाई पनि खोप लगाइरहेको छ । त्यस कारण आफ्नो रोजगारदाता कम्पनी वा स्पन्सरमार्फत खोप लगाउन दूतावासले ओमानमा कार्यरत नेपालीलाई एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।

ओमानमा नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि  ओमानको सर्वोच्च कमिटीले ३१ जुलाई सम्मका लागि रात्रिकालीन लकडाउन लगाएको छ । आउँदो १६ जुलाईदेखि ३१ जुलाईसम्म साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म लकडाउन हुनेछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले दिनहुँ सूचना जारी गर्दै सचेत रहन आग्रह गरिरहेको छ । यस्तै महामारीकै बीचमा पनि ओमानले नेपालीको प्रवेश भने खुला नै राखेको छ । ओमान जाने यात्रुले अनिवार्य रूपमा सात दिन क्वरेण्टीनमा बस्नुपर्छ ।

ओमान सरकारले जारी गरेको एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा अवतरण गर्नासाथ पीसीआर पनि परीक्षण गर्नुपर्ने पछिल्लो व्यवस्था छ । 

यो महामारीको कठिन समयमा कुनै समस्या परेमा या जानकारी चाहिएमा दूतावासमा २४६९६१७७ वा २४६९६८८३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । कार्यालय समयभन्दा बाहेकको समयमा श्रमिकको समस्या सुन्न दूतावासले हटलाइन नम्बर ७१५९२४९० को व्यवस्था गरेको छ ।