दार्चुलामा ५५ वर्षमाथिका नागरिकलाई भेरोसेलको दोस्रो डोज दिइदै

दार्चुलामा ५५ वर्षमाथिका नागरिकलाई भेरोसेलको दोस्रो डोज दिइदै

दार्चुलामा कोरोना भाइरसविरुद्धको चीनियाँ भेरोसेल खोप आज र भोली लगाइदै छ । जिल्ला कोभिड—१९ खोप अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लामा २५ र २६ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेबमोजिम खोप दिइन लागेको हो ।

गत जेठ २७ र २८ गते भेरोसेलको पहिलोे डोज लगाएकाहरुलाई दोस्रो डोज दिइन लागेको खोप सुपरभाइजर विरेन्द्र प्रसाद भट््टले बताए । दार्चुलामा भेरोसेल खोपको पहिलो मात्रा १ हजार ४ सय ९५ जनाले पाएका छन् । ५५ वर्षमाथिका तथा लक्षित उमेर समूहका छुट नागरिकहरुलाई दोस्रो डोज दिइन लागेको उहाले बताए । देशका अन्य जिल्लामा ६० वर्षमाथिका नागरिकलाई मात्र खोप लगाइएपनि दार्चुलामा भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप दिइदै छ ।

जिल्लाका नौ वटै स्थानीय तहका २० खोप केन्द्रबाट भेरोसेल खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । ब्याँसका आम नागरिकलाई खोप चीनसँग सीमा जोडिएको ब्याँस गाउँपालिकाका नागरिकलाई अनिवार्य कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

चीनले नेपाल सरकारलाई उपलब्ध गराएको भेरोसेल खोप चीनसँग सीमा जोडिएका गाउँपालिका र नगरपालिकाहरुका नागरिकलाई दिने शर्त अनुसार ब्याँस गाउँपालिकाका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । ब्याँस गाउँपालिकाका ४० वर्ष देखि ५५ वर्ष उमेर समूहका आम नागरिक तथा ५५ वर्ष माथिका यसअघि छुटेका सबै नागरिकलाई असार २५ र २६ गते खोप लगाइने उनले बताए । खोप केन्द्रको हकमा नियमित खोप लगाइ रहेका केन्द्रहरुबाट खोप लगाइने छ ।

ब्याँसका लागि १ हजार ५ सय डोज खोप उपलब्ध भएको छ । खोपको उपलब्धता हेरी ब्याँसका ४० वर्षदेखि ५५ वर्ष उमेर समूहलाई अहिले पहिलो डोजको खोप दिइने जनाइएको छ ।

जेठ २७ र २८ गते खोप लगाएका खोप केन्द्रहरुमा गई खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । दार्चुलामा भेरोसेलको पहिलो डोज १ हजार ४ सय ९५ जनाले लगाएका छन् ।