सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने

सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलले सहमतिको साझा मस्यौदा तयार गरेको छ । तर त्यसको अन्तिम रुप भोलि दिने निर्णय गरेको छ ।

आज सिंहदरवारमा करिब सात घण्टा लामो छलफलबाट कार्यदलले सो मस्यौदा तयार गरेको हो । कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा सहमतिको मस्यौदा तयार गर्ने काम भएको र भोलि त्यसलाई अन्तिम रुप दिने तयारी भएको जानकारी दिनुभयो ।

कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई अन्तिम रुपदिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने कार्यदलले बताएको छ । दुई नेताहरुको सहमतिपछि मात्र मस्यौदाले अन्तिम रुप लिने कार्यदलका सदस्यहरुको भनाई छ ।

गत सोमबारदेखि सहमतिका लागि सक्रिय कार्यदलका सदस्यहरुले आज सहमतिको मस्यौदा गर्न लामो समय लगाउनुभयो । कार्यदलका सदस्यहरुको सुझाव र विचारलाई संश्लेषण गर्न समय लागेको कार्यदलका सदस्य रघुजी पन्तले बताउनुभयो ।

कार्यदलले करिब टुङ्गो लगाएको विषयमा भोलि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग कार्यदलका नेताहरुले छलफल गर्ने उहाँले जानकारी दिनुभयो । दश सदस्यीय कार्यदलका सदस्यहरुबीच पार्टी एकताको विषयमा मोटामोटी सहमति बनेपनि के के विषय र सहमतिको मोडालिटीबारे अझै जानकारी गराइएको छैन । अध्यक्ष ओली र नेता नेपालबीच अन्तिम सहमति बनेपछि मात्र त्यसलाई संयुक्त विज्ञप्तिकोरुपमा दस्तावेज सार्वज्निक गर्ने तयारी एमालेले गरेको छ ।

कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले सहमतिको दस्तावेज तयार भएको र भोलिको बैठकबाट अन्तिमरुप दिने बताउनुभयो । “लामो छलफल, संवाद र प्रयासबाट कार्यदलले सहमतिको दस्तावेज तयार पारेको छ, भोलि नै अन्तिम रुप दिएर सार्वजनिक गर्छौ” उहाँले भन्नुभयो ।

पार्टी एकता हुनेमा अब कुनै कसर बाँकी नहुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ । त्यस्तै नेता नेपालको तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।