हतारैहतारको यो जिन्दगीमा हाम्रो गलत जीवनशैलीका कारण रोगहरुले बढावा पाउन थालेका छन्।
कामको व्यस्तताले लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र हामी खाना खाने गछौँ। यसका कारण एसिडिटी बढ्न जान्छ। एसिडिटी गलत खानपान र जीवनशैलीका कारण हुने चिकित्सक बताउँछन्।
एसिडिटी हुने धेरै कारण छन्। दैनिक व्यस्तताले खानामा त्यत्ति ध्यान दिने गरिँदैन। हाम्रो खानपान, रहनसहनका साथै एसिडिटी शारीरिक र मानसिक कारण पनि हुनसक्ने चिकित्सक बताउँछन्।
शरीरमा आमाशयले सामान्य तरिकाले पाचन प्रक्रियाको लागि एसिड निस्कन्छ। खाना पचाउन पेटका ग्रन्थीहरुले विभिन्न एसिड निकालिरहेको हुन्छ। यस्ता एसिडहरु खानामा घोलिन्छ र खानालाई पचाउन मद्दत गर्छ। यस्ता एसिडहरु आमाशयमा जतिबेला पनि उत्पादन भइरहेको हुन्छ। हामीले खानामा ध्यान नदिँदा लामो समयसम्म पेट खाली भएको अवस्थामा एसिडहरु पेटको भित्तामा पुग्छन् र पेट दुख्न र पोल्न थाल्छ। यस्तो प्रक्रिया बारबार हुँदै गएमा अन्ननली र आमाशयमा सुजन पनि हुनसक्छ।
हामीले के खाना खान्छौँ, कति मात्रामा खान्छौँ, कस्तो खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ, यो हामीले जान्नुपर्छ।
एसिडिटीका कारण
धेरै मसलादार, पिरो तथा तारेको खाना।
जंकफुड मात्र खाँँदा।
चिया, कफी।
चिसो पेय पदार्थ।
चुरोट सेवन।
धेरै रक्सी पिउँदा।
समयमै खाना नखाँदा।
बासी खाना खाँदा।
धेरै कम खाना खाँदा।
धेरै समयसम्म खालि पेट बस्दा।
पर्याप्त मात्रामा नसुत्दा।
खाना खानासाथ सुत्दा।
चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्दा।
धरै चिन्ता गर्दा।
मोटोपन।
गर्भावस्था।
एसिडिटीका प्रमुख लक्षणहरु
पेट पोल्नु वा दुख्नु।
टाउको वा छाती पोल्नु।
अमिलो पानी आउनु।
अमिलो डकार आउनु।
घाँटी पोल्नु।
पेट भारी हुनु।
वान्ता हुनु।
श्वासप्रश्वासमा समस्या।
एसिडिटीबाट बच्ने उपाय
पिरो, मसालेदार तथा तारेको खाना नखाने।
चिया, कफी, चुरोट तथा रक्सी सेवन नगर्ने।
के खाँदा समस्या उत्पन्न हुन्छ, ती खाने कुरा नखाने।
प्रत्येक दिन बिहान मनतातो पानी पिउने।
घरमै तयार पारिएको खानालाई प्राथमिकता दिने।
लामो समयसम्म पेट खाली नराख्ने।
एकैपटक धेरै खानुभन्दा थोरैथारै खाना खाइरहने।
नियमित रुपमा व्यायाम गर्ने ।
पर्याप्त मात्रामा सुत्ने।
खानामा केरा, खरबुजा र काँक्रा समावेश गर्ने।