दार्चुलाको नौगाडमा बाढी र पहिरोले खानेपानी बगाएपछि समस्या

दार्चुलाको नौगाडमा बाढी र पहिरोले खानेपानी बगाएपछि समस्या

दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिका वडा नं. ३ मा बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको अभाव भएको छ । यही असार १२ गते निर्माण सम्पन्न भएको डाँडा जामीर पसाड खानेपानी योजनामा बाढी र पहिरोले क्षति पुर्याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर ठगुन्नाले जानकारी दिए । 

बाढी र पहिरोले खानेपानी योजनाका ४ ओटा इन्टेक र एउटा च्याम्बर बगाएको ठगुन्नाले बताए । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनासंगको सहकार्यमा १ करोड ३४ लाख ५३ हजारको लागतमा निर्माण सम्पन्न भएको योजनामा बाढी र पहिरोले क्षति पुर्याएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो । 

डाँडा जामीर, पसाड, गोगने टोलका नागरिकलाई खानेपानीको समस्या भएको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । असार २५ गते गुन्ढाडु खोलामा आएको बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएको उनले बताइन् ।